समाजवादी पार्टी फूटको संघारमा , ४० % सांसद्को हस्ताक्षर तयार, डा. भट्टराईका सल्लाहकारद्वारा प्रधानमन्त्रीले सांसद् अपहरण गराएको आरोप

पूर्वप्रधानमन्त्री डा.‍ बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको दल समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ । सो पार्टीकी नेतृ रेणु यादवको नेतृत्वमा आठ जना सांसद्ले अलग्गै पार्टी बनाउने तयारी गरेपछि समाजवादीभित्र हल्लीखल्ली भएको छ । 

केहीबेरअघि डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले ट्वीट गरे, ‘आज वैशाख १० गते साँझ ५  बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ।’ 

त्यसको केही बेरअघि उनले अर्को ट्वीट गरी यादवलाई जनकपुरबाट काठमाडौं ल्याउँदै गरेको उल्लेख गर्दै भनेका थिए, ‘ पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा‍‍. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौं ल्याउँदैछ । यो के हुन लागेको हो ओलीतन्त्रमा ?’ यसबारे थप जानकारीका लागि सम्पर्क गर्न खोज्दा पाण्डेसँग सम्पर्क हुन सकेन । 

पार्टी स्रोतका नयाँ दल दर्ताका लागि आठ जना सांसद् तयार भइसकेका छन् । संघीय संसद्का सदस्यहरू रेणु यादव, विमलप्रसाद श्रीवास्तव, मोहम्मद इस्तियाक राई, रुही नाज, कुलदेवी विश्वकर्मा, डा सुरेन्द्र यादवलगायत रहेको स्रोतको दाबी छ ।  

संघीय संसद्मा समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य १५ र राष्ट्रियसभामा १ गरी कुल १६ जना सांसद् रहेका छन् । ४० प्रतिशतका लागि सात जना पुग्नुपर्छ ।

सोमबार जारी भएको अध्यादेशले  गरेको व्यवस्थाअनुसार संसद् वा केन्द्रीय समिति मध्ये कुनै एकमा ४० प्रतिशत नयाँ दल दर्ता गर्न पाइने गरी कानूनी व्यवस्था गरेको छ । यसै प्रावधानलाई टेकेर रेणु यादव र मोहम्मद इस्तियाक राईको नेतृत्वमा नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा जाने भएको स्रोतको दाबी छ ।

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएलगत्तै समाजवादी पार्टी फुट्ने चचाए चदेको थियो । संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले पार्टी फुटाउने खेल खेलेको आरोप ट्वीटरमार्फत् लगाएका थिए । अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै अध्यादेश नेकपाकै लागि घातक हुने चेतावनी दिएका थिए।

समाजवादी पार्टीबाट प्रतिनिधिसभामा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, रामसहायप्रसाद यादव, मोहम्मद इस्तियाक राई, उमाशंकर अरगरिया, कुलदेवी विश्वकर्मा, प्रदीप यादव, विमलप्रसाद श्रीवास्तव, रामबाबुकुमार यादव, रुही नाज, रेणुकुमारी यादव, रेणुका गुरुङ, डा. सुरेन्द्रकुमार यादव, डा. सूर्यनारायण यादव छन् भने राष्ट्रियसभामा प्रमिला कुमारी सदस्य छिन्  ।

दुवै जना अध्यक्ष भट्टराई  र यादव विभाजनलाई जाेगाउन अन्तिम काेशिशमा लागेकाे स्राेतकाे दाबी छ ।

 

प्रकाशित मिति: : 2020-04-22 21:10:51

प्रतिकृया दिनुहोस्