थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन्। योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ।
बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएको छ। यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन्। उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन्।
उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी–९५३७ विमानमा नेपाल आएका थिए। पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए।
कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका ईन्द्रबहादुर बिक चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्ली भन्ने स्थानबाट कञ्चनपुरको ब्रम्हदेवको बाटो हुँदै लुकेर नेपाल पसेका हुन्।
उनलाई सोही दिन सशस्त्र प्रहरीले क्वारेन्टाइनमा राखेको थियो। चम्पावतबाट हिँडेर आएका उनीसहितका ७ जना ट्युब प्रयोग गरेर नेपाल छिरेका थिए। ब्रम्हदेबको बाटो महेन्द्रनगरतिर आइरहेका उनीहरुलाई सशस्त्र प्रहरीले समातेर बेदकोट नगरपालिकामा रहेको कृषि पाइलट फार्मको छात्रबासमा बनाइएको क्वारेन्टाइनमा राखेको थियो।
उनको नेपाली सेनाको छाउनी स्वास्थ्यकर्मीको टोलीले थ्रोट स्वाब संकलन गरेको थियो। चैत २२ गते स्वाबको रिपोर्ट पोजिटिभ आएपछि उनलाई सेती अञ्चल अस्पतालको आइसुलेशन वार्डमा भर्ना गरिएको थियो।
उनको तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालले बुधबार डिस्चार्ज गरेको हो। उनीसँगै कोरोना पोजिटिभ देखिएका कैलालीको लम्कीका युवक आइतबार नै डिस्चार्ज भइसकेका छन्।
अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिलाको मात्रै उपचाररत छन्।