हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले सदरमुकाम खलङ्गामा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गरेका छन्।
चन्दननाथ नगरपालिका – ४ पीपलधारा मालाभिडका बुढाले सरकारले चैतको घरभाडा नलिन आह्वान गरेपछि आफूले पनि घरभाडा नलिने घोषणा गरेका हुन्।
गत चैतको मासिक घरभाडा रु २० हजारसहित पानी र बिजुलीको महसुल पनि नलिने निर्णय गरिएको उनकी पत्नी सीताले जानकारी दिइन्।
यसअघि चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले दुई घरको मासिक रु ३१ हजार ५०० र प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले रु २१ हजार घरभाडा नलिने घोषणा गरेका थिए।
यसैबीच उच्च अदालत सुर्खेत, जुम्ला इजलासले म्याद नाघेको नुन वितरण नगर्न र गर्न नलगाउन आदेश गरेको छ। कोरोना भाइरसका कारण लकडाउन भएपछि हिमा गाउँपालिकाले राहत वितरण गर्दा म्याद नाघेको नुन वितरण गरेको भन्दै सोही गाउँपालिका – १ का प्रतिभा शाही र नेत्रबहादुर शाहीले यही वैशाख ७ गते रिट निवेदन दायर गरेपछि अदालतले वैशाख ९ गते सो आदेश गरेको हो।
म्याद नाघेको नुनका विषयमा गाउँपालिका र गाउँ कार्यपालिकाका नाममा रिट दायर भएको मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको भनाइ छ।