राजापुर नगरपालिकाका ३९ थारु समुदायका कामदारलाई उद्धार गरिएको छ।
जुम्लाबाट पैदल यात्रा गरी बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका उनीहरुलाई लायन्स क्लबमा आबद्ध व्यक्तिले बटुवाका लागि सञ्चालन गरेको मेसमा खाना खुवाएर सवारी साधनमार्फत राजापुरका लागि पठाइएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए।
राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले यातायातबापतको रकम चालकलाई बर्दिया पुगेर भुक्तानी दिने गरी दैलेखबाट उनीहरुको उद्धार गरिएको हो।
साथीहरु हिँड्न नसक्ने अवस्थामा नभएको र धेरैको खुट्टा फुटेको कुरा पत्रकारले थाहा पाएर सबैलाई जानकारी गराइदिएका कारण आफूहरूको उद्धारमा सहयोग भएको पैदल यात्रीहरुको भनाइ छ।
लायन्स क्लब दैलेखका सदस्यले व्यक्तिगत रुपमा रु एक हजार पाँच सय संकलन गरेर बटुवालाई खाना खुवाउने अभियान शुरु गरेको र अहिलेसम्म दुई सयभन्दा बढीलाई खाना खुवाएर गन्तव्यमा पठाइएको दैलेख लायन्सका अध्यक्ष नरेन्द्र केसीको भनाइ छ।