धनगढीका अर्का कोरोना बिरामी निको भएर घर फर्केका छन् ।
धनगढी उपमहानगरपालिका– ५ का ३४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएपछि उनलाई २९ दिनपछि मंगलबार घर पठाइएको सेती अञ्चल अस्पतालका डा. जगदिश जोशीले जानकारी दिए ।
कोरोना परीक्षणमा उनका पछिल्ला दुई रिपोर्टको नतिजा नेगेटिभ आएको थियो । सोमबार उनको चौथौ र मंगलबार पाँचौं रिपोर्ट आएको हो ।
उनी चैत ७ गते दुवईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौंबाट नेपालगञ्ज जहाजमा र त्यसपछि बस, अटोरिक्सा हुँदै चैत ८ गते घर पुगेका थिए ।
कोरोनाको जस्तै लक्षण देखिएपछि चैत ११ गते सेती प्रादेशीक अस्पताल भर्ना गरिएको थियो । उनको थ्रोट स्वाबको रिपोर्ट चैत १४ गते पोजिटिभ आएपछि उनलाई सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
उनका परिवारका ८ जना मध्ये ३४ वर्षीय भाउजूलाई पनि कोरोना पोजिटिभ देखिएपछि, उनी सेती अस्पतालको आइसोलेसनमा छन् ।
सेती अस्पतालमा सुरुमा पाँच कारोना संक्रमितको उपचार भएको थियो। आइतबार २१ वर्षीय युवक १६ दिनमा कोरोनालाई जितेर डिस्चार्ज भएका थिए । मंगलबार अर्का पुरुष डिस्चार्ज भएपछि अहिले सेती अस्पतालमा तीनजनाको उपचार भइराखेको छ ।
त्यसैगरी शनिबार मात्र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीय महिला र काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी युवतीको डिस्चार्ज भएको थियो। यसअघि गत माघमै एक युवक कोरोनालाई जितेर डिस्चार्ज भएका थिए।
नेपालमा कोरोना संक्रमितको संख्या ४० पुग्दा यसलाई जितेर निको हुनेको संख्या पाँच पुगेको हो ।