ब्राजिलमा कोरोना स्थितिः नेपालीहरू सुरक्षित, राष्ट्रपति विवादित, संक्रमण र मृतकको संख्या बढ्दो

प्रीया राना

साओ पाउलो, ब्राजिल

करिब २ महिना अघि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमणबाट संसारभरमा यो आलेख तयार पार्दासम्म लाखौ मानिस संक्रमित भएका छन् भने करिब २ लाख मानिसले ज्यान गुमाएका छन्।

यो महामारीले विश्वलाई नराम्ररी थला पारिरहेको बेला दक्षिण अमेरिकी राष्ट्र ब्राजिल पनि अछुतो रहेन। गत फेब्रुअरी २६ मा पर्यटकीय शहर रियो द जेनेरियोमा पहिलो पटक कोभिड १९ बाट संक्रमित एक ६३ वर्षिय व्यक्तिको मृत्यु भएको थियो। तर उक्त कुरालाई ब्राजिलमा नर्मल भाइरसबाट मृत्यु भएको भनियो।

त्यसपछि मार्च १७ मा मात्र साओ पाउलोमा ज्यान गुमाउने ६१ वर्षिया वृद्धालाई कोभिड १९ बाट मृत्यु हुने पहिलो व्यक्ति भनेर खुलाइयो।

मार्चदेखि ब्राजिलमा देखिन थालेको कोरोना भाइरसबाट  सुरूका दिनमा संक्रमीत र मृत्यु हुनेको संख्या एकदमै थोरै थियो। न्यून मात्रामा संक्रमित र मृत्युको संख्यालाई हेरेर सम्भावित थप जोखिम न्यूनिकरणका लागि सरकारले ब्राजिलका प्रभावित राज्यमा मार्च १५ देखि लकडाउन सुरू गर्‍यो।

यद्यपी पछिल्लो समयमा मुलुक लकडाउन भए पनि संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहेको छ। यसमा आम मानिसले गरेको लापरबाही र सरकारको आव्हानमा भएको लकडाउन उल्लंघनपछि सिर्जित अवस्था हो।

लकडाउनको नियम उल्लंघन गरि आफू खुसी हिँड्ने, कुनै सुरक्षापन नअपनाउने गर्दा ब्राजिलमा छोटो समयमै यो रोग फैलियो। संक्रमितको संख्या धेरै हुनुमा अधिकांश मानिसहरू बढी बिरामी भएपछि मात्रै हस्पिटल जाने भएकाले ब्राजिलमा संक्रमितको संख्या धेरै रहेको अनुमान गरिएको छ।

ब्राजिलको सबैभन्दा ठूलो शहर साओपाउलोलाई व्यापार विजनेसको उध्गमस्थल मानिन्छ। यहाँ मानिसको एकदम भीड हुने ठाउँ र विभिन्न देशबाट ब्यापार गर्न आउने ब्यापारी भएको यो शहर ब्राजिल भरिमा सबै भन्दा बढी प्रभावित भएको ठाउँ हो।

ब्राजिलका संक्रमित र मृत्युको संख्यामध्ये झन्डै आधा संक्रमित र मृत्यु साओपाउलोका छन्। हर समय भीडभाड र ब्यस्त हुने यो शहर अहिले एक महिनादेखि सुनसान छ।

त्यस्तै ब्राजिलको पर्यटकीय शहर रियो द जेनेरियोमा पनि धेरै मानिसको कोरोना भाइरसबाट संक्रमित र मृत्यु भएको छ। लाखौं पर्यटकको घुइँचो हुने यो सुन्दर शहर पनि अहिले सुनसान छ।

ब्राजिलमा नेपालीको संख्या एकदमै न्यून छ। ब्राजिलभरीमा गरि करिब १०० जना मात्रै नेपाली रहेको अनुमान गरिन्छ। त्यसमध्ये लगभग ६० जना नेपाली साओपाउलोमा बस्ने गर्छन्। बाँकी अरू शहरमा छन्।

यहाँका अधिकांश नेपाली ब्यापार ब्यवसायमा संलग्न छन्।

केही नेपाली होटल रेस्टुरेन्टमा पनि काम गरिरहेका छन्। पछिल्लो समय लकडाउन भए सँगै यहाँका सबै नेपालीहरू घरमै बसिरहेका छन्।

यद्यपी लामो समयसम्म ब्यापार ब्यवसाय बन्द हुँदा उनीहरू मर्कामा परिरहेका छन्। राजधानी ब्रासिलियास्थित नेपाली राजदूतावासका कन्सुलर भरत खनालका अनुसार यहाँका नेपालीहरू सुरक्षित रूपमा घरमै क्वारेन्टाइनमा बसिरहेको बताए।

उनले यदि ब्राजिलमा भएका नेपालीलाई केही आपत आइपरे दूतावासले सहयोग गर्ने जानकारी दिए।

ब्राजिलमा भएका सबै नेपालीलाई उनले नआत्तिकन घरमै सुरक्षीत भएर बस्न र अति आवश्यक परेको ठाँउमा जाँदा आफूलाई सुरक्षित तरिका अपनाएर जाने सल्लाह दिएका छन्।

ब्राजिलको साओपाउलोमा विगत ८ वर्षदेखि ब्यवसाय गर्दै आएका एनआरएन ब्राजिलका अध्यक्षसमेत रहेका गणेश गुरूङले पनि यहाँका नेपालीहरू सबै सुरक्षित रहेको जानकारी दिए।

उनले लकडाउन सकिएसँगै सुरक्षित रूपमा ब्यवसाय पुनः सुचारू गर्ने जानकारी दिए।

ब्राजिलमा नेपालीको संख्या थोरै भएकाले त्यति आत्तिनुपर्ने नभएको भन्दै द्रूत रूपमा फैलिएको यो महामारीबाट आफूलाई सकेसम्म सुरक्षित राख्न उनले यहाँका सबै नेपालीमा अनुरोध गरेका छन्।

यता ब्राजिल सरकारले लापरबाही र आफ्नो स्वास्थ्यमा ध्यान नदिँदा संक्रमित र मृत्युको संख्यामा वृद्धि भए बताउँदै आए पनि राष्ट्रपति जयर बोल्सोनारोले लकडाउनको विरोध गर्दै सबैलाई ब्यापार ब्यवसाय सूचारू गर्न आदेश दिएका छन्।

सुरूका दिनमा यो भाइरसलाई सामान्य फ्लू भनेका राष्ट्रपति बोल्सोनारोले ब्राजिललाई कम नआँक्न र एक दुई जना मान्छे मर्दैमा केही नहुने जिकिर गर्दै आएका छन्।

‘एक दुई जना मर्दैमा केही हुँदैन। तर, आफ्नो अर्थतन्त्रमा ह्रास आउन हुँदैन’, उनले भनेका छन्।

यता जनताहरू आफ्नै राष्ट्रपतिको विरोध गर्दै घरको झ्यालबाट भाँडाकुँडा ठटाएर ‘गेट आउट बोल्सोनारो’ भनेर नारासमेत लगाएका थिए।

अहिले ब्राजिलभरि राष्ट्रपति जयर बोल्सोनारोको बिरोध भइरहेको छ। ब्राजिलका स्वास्थ्य मन्त्री लुइज हेनरीक मन्देता र बोल्सोनारोबिच केही समयदेखि कोरोना सम्बन्धि विषयमा विवाद हुँदा बोल्सोनारोले स्वास्थमन्त्रीलाईसमेत पदबाट हटाएर नयाँ मन्त्री नेल्सन तेचलाई नियुक्त गरेका छन्।

सधै विवादमा आइरहने ब्राजिलियन राष्ट्रपति विदेशी शरणार्थीलाई मन पारउँदैनन्। यहाँका जनतालेसमेत उनको स्वभाव अमेरिकी रास्ट्रपति ड्रोनाल्ड ट्रम्पसँग तुलना गरेर हेर्ने गरेका छन्।

यसैबीच ब्राजिलमा केही दिन यता मात्र सरकारले न्यून आएका भएका जनतालाई राहत प्याकेजको रूपमा केही रकम बाढ्ने निर्णय गरेको छ। लकडाउनका कारण बेरोजगार भएर घरमै बसेकालाई केही रकम दिने भनिए पनि कार्यान्वयनमा कतिको आउने हो भोलिका दिनमा देखिनेछ।

यस्तै सबैभन्दा बढी प्रभावित साओपाउलोका सबै फुटबल रंगशालालाई खुल्ला हस्पिटल बनाउन स्वास्थ विभागलाई हस्तान्तरणसमेत भइसकेको छ।

जहाँ सङ्क्रमितको उपचार हुनुका साथै क्वारेन्टाइनको समेत व्यवस्था गरिएको छ।

लकडाउनका कारण ठूला पसल, रेस्टुरेन्ट, ब्यापार ब्यवसाय बन्द भए पनि अत्यावश्यक पसल, क्लिनिक भने  खुला छन्।

त्यस्तै घरेलु हवाई उडान, आवतजावत गर्ने यातायातका साधन, बस, ट्रेन नियमित चलिरहेकै छन्। अहिलेसम्म घरेलु उपभोगका समानको खासै अभाव छैन। तर महँगी बढेको छ। लकडाउन कहिलेसम्म चल्ने हो यकिन छैन।

यही स्थिति अलि समय लम्बिए यहाँका नेपालीलाई समस्यामा पर्नसक्ने सम्भावना छ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क  अनुसार अहिलेसम्म ब्राजिलमा ४१ जहार संक्रमित फेला परेका छन्। जसमध्ये करिब २६ सय जनाको ज्यान गइसकेको छ भने अझै ८ हजार ४ सय जना गम्भीर विरामी भएर उपचार गरिरहेका छन्। यहाँका २३ हजार मानिस निको भएर फर्किसकेका छन्। ब्राजिलमा धेरैजसो  ६० वर्षभन्दा माथिका व्यक्तिमा यो रोगको संक्रमण देखिएको छ।

प्रकाशित मिति: : 2020-04-21 15:27:00

प्रतिकृया दिनुहोस्