तितेपाती सेनिटाइजर उत्पादन 

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती सेनिटाइजर उत्पादन गरेको छ। 

विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको सेनिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट सेनिटाइजर उत्पादन गरेको रहेको विश्विद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए।
      
तितेपाती प्रयोग गरी बनाइएको सेनिटाइजर पहिलो प्रयोग भएको बताउदैं उनले भने, 'सेनिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तयार पारिएको हो।'

केन्द्रले पहिलो चरणमा १८० लिटर सेनिटाइजर उत्पादन गरेको र २० एमएलको बोतलमा प्याकिङ गरेको उनले बताए। 'सेनिटाइजर सोमबारदेखि प्रयोगमा ल्याइएको हो' उनले भने।

जिल्लाको नारायणगढ र नवलपुरको गैँडाकोट क्षेत्रका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायी तथा कृषकलाई निःशुल्करूपमा वितरणसमेत गरिएको उनले बताए।

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलिया, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरिया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2020-04-21 12:03:07

प्रतिकृया दिनुहोस्