चार सय मजदुरलाई उपत्यकाबाट स्थायी बासस्थान रहेको जिल्ला पठाइएको छ।
आइतबार बेलुका ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनको सक्रियतामा भक्तपुर र ललितपुरमा अलपत्र परेका चार सय कामदारलाई बसबाट घर पठाइएको हो।
कोरोना भाइरसको संक्रमणका लागि लकडाउन लम्बिरहँदा घर फर्किन सडकमा पैदल हिँडिरहेका मजदुरलाई पठाइएकाे मन्त्री पुनले जानकारी दिए।
जसका लागि ९ वटा बसमा रिजर्भ गरिएको थियो। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार त्यसरी पठाइएकामा रोल्पा, दाङ र सल्यानका मजदुर छन्।
उनीहरु काभ्रेका विभिन्न स्थानबाट आएकामा प्रहरीले शंखरापुरमा रोकेको थियो।
बाहिरबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरलाई दुईवटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको उनले बताइन्।
यस्तै आइतबार बिहान थानकोटमा रोकिएका दुई सयभन्दा बढी मजदुर र अरनिको राजमार्ग छेउछाउमा रहेका मजदुरलाई भक्तपुरका सांसद महेश बस्नेतको सक्रियातमा बिपी राजमार्ग हुँदै जिल्ला पठाइएको थियो।