लकडाउन उलंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ स्थित एक मस्जिदबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनलाई उल्लंघन गरेको, सामाजिक दूरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
सरकारको अनिवार्य लकडाउनको घोषणालाई उल्लंघन गरी जबरजस्ती सामूहिक नमाज पढ्न खोज्ने व्यक्तिहरुको समूहलाई पक्राउ गरिएको उनले जानकारी दिए।
पक्राउ परेका सबैलाई मायादेवी गाउँपालिकाबाट सदरमुकाम तौलिहवास्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ।
यसअघि प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जिल्लाका मुस्लिम अगुवा, मदरसा संचालक, तथा इस्लाम धर्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामूहिक वैठक वसी घर घरमै नमाज पढ्न आग्रह गरेका थिए।
तर पनि जबरजस्ती स्थानीय मस्जिदमा जम्मा भई नमाज पढ्न खोज्ने उनीहरुलाई बाध्य भई पक्राउ गर्नु परेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए।