गठ्ठाघरबाट जगातीसम्म निःशुल्क खाना स्टेशन

रमेश गिरी

भक्तपुर,

हिँडेरै सिन्धुली जान लागेको रामप्रसाद कार्कीले आज पेटभरि खाना खाए। हिँडेरै आउँदा शनिबार कौशलटारमा प्रहरीले रोकेर ह्वाई पार्टी प्यालेसमा बास बस्ने व्यवस्था गरेपछि आज घर जानुअघि गठ्ठाघरको बर्गर हाउसमा उनीसँगै रहेका १५० बटुवा र अन्य ५० गरी २०० जनाले खाना खाएका छन्। आजबाट जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाको सहयोग एवं नेतृत्वमा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन गठ्ठाघरका सञ्चालक वसन्त लामा, सुनिल बज्राचार्य र मानवीय आस्था नेपालको समन्वयमा निःशुल्क खाना खुवाउने व्यवस्था गरेको हो।

साँझ गाडीमा हालेर घर फर्काउने गरी पैदलयात्रुलाई रोकेको प्रहरीले शनिबार घर पठाउन नसकेपछि भोकै उनीहरुलाई आज पहिलो दिन बिहान ११ बजे एकैसाथ खाना खुवाएको नागरिक कम्युनिटी टिचिङ अस्पतालका सञ्चालकसमेत रहेएका कासिछ्वाले जानकारी दिए। ‘माननीय महेश बस्नेतसँग पैदलयात्रुलाई खाना खुवाउनेबारे छलफल भयो, त्यहीअनुरुप आजदेखि खाना खुवाउन शुरु गरेका छौँ’, अध्यक्ष कासिछ्वाले भने, ‘आजदेखि १५ गतेको लकडाउनसम्म गठ्ठाघरमा दिउँसो १ बजेसम्म पैदलयात्री, सडक मानव, अस्पतालका बिरामी कुरुवादेखि भोकै बसेका यहाँ आउने जोसुकै हामी निःशुल्क खाना खुवाउँछौँ ।’

भक्तपुरमा कोही पनि भोकै नपरुन् भन्ने उद्देश्यले प्रतिनिधिसभाका सांसद महेश बस्नेतको समन्वय र विभिन्न निकायको सहयोगमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । जुनसुकै ठाउँबाट भोकै आउने व्यक्तिलाई गठ्ठाघरमा भात, दाल, तरकारी र अचार खुवाउने जानकारी दिँदै कासिछ्वाले भने, ‘खानेकुरा नभएर कोही पनि भोकै बस्नु पर्दैन, पैदलयात्रु कोही भोकै हिँड्नु पर्दैन, हामीले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेका छौँ, यहाँ आइदिनुस् ।’

नजिकै रहेको नागरिक अस्पताल, नेपाल कोरिया नगरपालिकामैत्री अस्पताल, मध्यपुर अस्पताललगायत क्षेत्रका बिरामी कुरुवालाई पनि खाना खान आउन आह्वान गर्दै उनले भक्तपुर अस्पताल र अन्य अस्पतालमा पनि कुरूवा र बिरामीलाई समस्या परे खाना पुर्‍याउने बताए। सडकमा बसेका, दैनिक ज्यालादारी गरी खानुपर्ने, अतिविपन्न मानिस भोकै छन् भने खाना खान आउन आह्वान गरेको छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा भक्तपुरको जगातीमा हिजोदेखि नै पैदलयात्रु, सडक मानव, मजदुर एवं विपन्न वर्गलाई खाना खुवाउन शुरु गरेको छ। काठमाडौंबाट पूर्व भएर पैदल जाने यात्रुलाई अरनिको राजमार्ग खण्डअन्तर्गत जगातीचोकमा सिपाडोल क्षेत्र परोपकार समाजले मानवीय आस्था नेपालको सहकार्यमा लकडाउनभरि खाना खुवाउने व्यवस्था गरेको वडाध्यक्ष थापाले जानकारी दिए।

वडाध्यक्ष थापाले भने, ‘हिँडेर आएका पैदलयात्रुलाई प्रहरी बृत्त जगाती अगाडि सड्कमा रोकेर खाना खुवाउने, दिउँसो खाजा खुवाउने र बेलुका प्रहरीको समन्वयमा विभिन्न सवारी साधनमा राखेर घर पठाउने व्यवस्था गरेका छौँ, अब हरेक दिन यो सडकमा कोही भोकै हिँड्नु पर्दैन।’

सिपाडोल परोपकार समाजका अध्यक्ष मणिरत्न बज्राचार्यका अनुसार प्रहरीसँगको समन्वयमा थर्मलगनबाट पैदलयात्रीको तापक्रम परीक्षण गरी, स्यानिटाइजर गरी खाना खुवाउने व्यवस्था गरेको छ ।

त्यसैगरी मानवीय आस्था नेपालले मानव सेवा आश्रमसँगको समन्वयमा विगत २० दिनदेखि दैनिक सडक मानव, पार्टी, मन्दिर र गल्लीमा बस्दै आएका असाह्य मानिसलाई दैनिक उनीहरु बसेकै ठाउँमा पुगेर खाना खुवाउँदै आएको छ । मानवीय आस्था नेपालको समन्वयमा जिल्ला खेलकुद विकास समितिको सहयोगमा महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र प्रहरी बृत्त थिमिलाई ज्वरो नाप्ने तीन थान थर्मलगन र ३८ थान टल्किने ज्याकेट (फ्लोर सेन्ट) सांसद महेश बस्नेतले हस्तान्तरण गरे।

त्यसैगरी भक्तपुरको पलाँसेमा कपडा बैंक स्थापना गरिने भएको छ । दाताले सहयोग गरेको लत्ताकपडा, जुत्ता, पानी गरिब असहाय र समस्या परेका पैदलयात्रुले निःशुल्क लैजाने गरी बस्नेतकै योजनाअनुसार कपडा बैंक स्थापना गर्न लागेको सूनपा वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए।

लकडाउन शुरु भएपछि मानवीय आस्था नेपालले जिल्लाका चारवटै नगरपालिकामा गरिब, असहाय, मजदुर, अतिविपन्न परिवारका लागि जिल्लाका चारवटै नगरपालिकामा खाद्यान्न वितरण गर्दै आएको छ।

पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार भक्तपुरमा कोही पनि भोकै बस्नु नपरोस् भनेर राहत वितरण र विभिन्न ठाउँमा निःशुल्क खाना खुवाउने स्टेशन सञ्चालन गरेको जानकारी दिए।

अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने बासको व्यवस्था गर्ने बताए। प्रहरीसँगको समन्वयमा पैदलयात्रुलाई खाना खुवाएर हिजोदेखि विभिन्न गाडीमा राखेर घर फर्काउने व्यवस्था गरेको बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले भन्ने, ‘प्रधानमन्त्रीको जनभावना र निर्देशनअनुसार हामीले अभियान शुरु गरेका छौँ, काठमाडौँ उपत्यकाभित्र र भक्तपुर जिल्लामा कोही अलपत्र हुनुहुन्छ, कोही भोकै हुनुहुन्छ भने मेरो फेसबुकमा १० जनाको नम्बर छाडेको छु ती नम्बरमा फोन गरेर हामीलाई खबर गर्नुस्, अब हामी कसैलाई भोकै र अलपत्र पर्न दिने छैनौँ ।’

प्रकाशित मिति: : 2020-04-19 14:52:31

प्रतिकृया दिनुहोस्