यति बेला मलाई देशको एउटा डरलाग्दो तस्वीर देखेर केही लेख्न मन लागेको हो। बिएल नेपाली सेवामा केही दिनअघि भारतीय सीमामा आमाको काजक्रिया गरिरहेका दार्चुलाका बासुदेव भट्टको सेतो लुगामा आएको तस्वीरले मेरो मस्तिस्क हल्लायो।
आमाको काजक्रिया पनि गर्न नपाएका उनी नेपालको सीमामा आइपुगेर पनि रोकिएका यो देशका सबैभन्दा अभागी जनता हुन्। उनी जस्ता हजारौं मान्छे शंकाको आधारमा आफ्नो देश प्रवेश गर्न पाइरहेका छैनन्।
तर, सरकार दावी गरिरहेको छ, हामीले जनताकै जीवन रक्षाका लागि अप्रिय भए पनि यस्तो कदम उठाएका हौं। भारतमा बसेका यी अभागी नेपाली, भारतीय मिडियाले सबैभन्दा बढी फुकिरहेको ‘मस्जिद काण्ड’ मा सामूहिक बसोबास गरिरहेका मुसलिम दाजुभाईभन्दा बढी सघन रूपमा एउटै कोठामा जोखिम मोलेर कोच्चिएर बस्नु परेको छ।
हाम्रो प्रधानमन्त्री भने टेलिभिजनबाट विश्व चर्चित बैज्ञानिकहरूले पत्ता लगाउन नसकेको कोभिड–१९ को विषयमा अल्पज्ञान छाँटिरहेका छन्। उनलाई सीमापारी रोकेर राखिएका मजदुर नेपाली दाजुभाईको त केही मतलब भएन, देशभित्रै अन्यौलमा भोकभोकै गाउँ फर्किरहेका र बाटोमै सुतिरहेका नेपालीको तस्वीर देखेर पनि खासै पीडा नभएको देख्दा सारा नेपाली चकित छन्।
सफल नेतृत्व भनेको त्यो हो, जसले अफ्ठेरो बेला बुद्धिमतापूर्वक काम गर्छ। चिच्याउँदैन, अर्कालाई आरोप लगाएर बस्दैन। समस्या के हो? त्यसको बिस्तृत अध्ययन गर्छ, ‘एक्सन प्लान’ बनाउँछ। सम्भावित दुर्घटनाको आँक्लन पहिले नै गर्छ र द्रुतगतिमा अगाडि बढ्छ।
तर, नेपालमा आफै बिरामीले थलिएका प्रधानमन्त्री उठ्ने कति बेला? बैठक बस्ने कति बेला?
जिम्मेवारी दिएका मन्त्रीहरूको काण्ड हरेक दिन पत्रपत्रिकामा उजागर भइरहेका छन्। त्यसमा उनीहरूले दिएको प्रष्टीकरण आफ्नै ठाउँमा होला। तर, अफ्ठेरो बेला उनीहरूको बुद्धि, बिबेकले काम गर्न नसकेको प्रस्ट छ। हरेक दिन सामान खरिदमा अनियमितताका काण्ड बाहिर आउनु भनेको ‘हावा नचलि पात हल्लिदैन’ भन्ने उखानसँग मेल खान्छ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा नफैलिँदासम्म दक्षिण कोरियामा पनि मुन जे–इनको सरकार हरेक दिन यस्तै कुनै न कुनै विवादमा मुछिएको हुन्थ्यो। यसअघि भ्रष्टाचारको मुद्धामा जेल परेकी पूर्वराष्ट्रपति पार्क क्वान–हिको पार्टी समेतले सरकारको विरोध गर्न थालेपछि त्यहाँ पनि अन्यौलको स्थिति बनेको थियो।
तर, चीनको उहानमा कोरोना भाइरसको संक्रमण फैलिएको खबर जसरी विश्व स्वास्थ्य संगठनमार्फत विश्वभरि फैलियो। दक्षिण कोरियाले एक मिनेटको समय पनि खेर नफ्याँली प्रभावशाली कदम उठायो।
त्यहाँको नेतृत्वले हाम्रो प्रधानमन्त्रीले ‘सुतेर भर्खर उठेजस्तै’ कोरोना भाइरसको विषयमा हावादारी कुरा गरेन। उनले प्रतिकूल अवस्थामा पार्टीका कार्यकर्तालाई राष्ट्रपति कार्यालयमा चिया पिउन बोलाएनन्। सबै चिकित्सकलाई एकै ठाउँमा डाके। देशका बैज्ञानिकदेखि सुरक्षाकर्मीसँग मिटिङ गरे।
कोभिड–१९ विरूद्ध लड्न सबैभन्दा प्रभावशाली ‘एक्सन प्लान’ सहितको दैनिकी मागे। सुरक्षाकर्मीलाई नागरिकको मौलिक अधिकार हनन नहुने गरि कोरोना भाइरसविरूद्ध लड्न आदेश दिए। स्वास्थ्यकर्मीलाई ‘१० लाख वन’ को प्याकेजसहित अस्पतालको मोर्चा सम्हाल्न प्रेरित गरे। बैज्ञानिकहरू यति बेला कोभिड–१९ को भ्याक्सिन पत्ता लगाउन ल्याबमा डटेर लागेका छन्।
उनले कोभिड–१९ विरूद्ध लड्न नागरिकलाई के के कुराको आवश्यक पर्छ, त्यो चिकित्सक टोलीसँग सल्लाह गरेर तुरुन्त मास्क, ग्लोब्स निर्माणलाई तिब्रता दिए। चारैतिर सेनिटाइजरको प्रयोग गर्न लगाए।
चीनको उहानबाट फर्किएकी एक महिलाले चर्चबाट फैलाएको कोरोना भाइरसविरूद्ध लड्न उनले प्रभावशाली ढंगले ‘ट्रेसिङ’ को नियम लागु गराए। कोरियामा कोभिड–१९ तेस्रो चरणमा प्रवेश गरिसकेको थियो।
राष्ट्रपति मुनलाई देश ‘लकडाउन’ गर्न ठूलो दबाब आयो। प्रतिपक्षी दलले नागरिकको बाच्न पाउनुपर्ने अधिकारप्रति सरकार संवेदनशील नभएको आरोप लगाए।
राष्ट्रपतिसँग प्रभावशाली ‘एक्सन प्लान’ थियो, त्यसैले उनी प्रतिपक्षीको चर्को विरोधमा पनि आत्तिएनन्। न ओठे जवाफ दिँदै तर्किए। मानिसहरू जम्मा हुने ठाउँ स्कुल, कलेज, पार्क, सिनेमा हल, क्लब, रेस्टुरान्ट तथा ठूला ठूला मल र सार्वजनिक यातायातबाहेक दक्षिण कोरियामा अरु कुनै कुरा बन्द भएन।
सरकारले सबैलाई मास्क र ग्लोब्स उपलब्ध गरायो। आफ्नो नागरिक मात्र होइन, विदेशी नागरिक संक्रमणमा पर्दा पनि उत्तिकै जिम्मेवारीका साथ उपचार गर्यो। अझ, राज्यको मानवीय पक्षलाई उजागर गर्दै गैरकानुनी रूपमा बसेका विदेशीको कुनै कागजपत्र नहेरिने भन्दै उपचार र जोखिम न्युनिकरणलाई थप सहज बनायो।
अहिले विश्व ‘लकडाउन’ को अवस्थामा छ। तर, दक्षिण कोरिया मात्र यस्तो देश हो, जहाँ भर्खरै निर्वाचन भएको छ। र, कोभिड–१९ विरूद्ध सफलतापूर्वक लडेको राष्ट्रपति र उनको सहयोगी दल ‘मिन्जुदाङ’ ले दुई तिहाई बहुमत प्राप्त गरेको छ।
देशमा कोरोना भाइरस फैलिनुअघि हरेक दिन मुन सरकारविरूद्ध जुलुस प्रदर्शन हुने गर्दथ्यो। कोरियामा लगभग सरकार ढल्ने अवस्थामा थियो। तर, बिपतको बेला राष्ट्रपतिले गरेको कामको उच्च मूल्यांकन गर्दै समानुपातिकमा रहेका सबै उम्मेदवार वर्तमान सरकारको पक्षमा उभिए। राष्ट्रपति मुनले पनि समानुपातिक उम्मेदवार मिलाएर आफ्नो पार्टी ‘द मिन्जुदाङ’ र समानुपातिकहरूको समूह ‘द सिमिनदाङ’ लाई गाभेर ‘मिन्जुदाङ’ पार्टी बनाए। अहिले एकीकृत भएको यही पार्टीले १ सय ८० सिटमा विजय प्राप्त गरेको छ।
यो निर्वाचनमा कोरोना संक्रमितले पनि भाग लिए। उनीहरूले पनि आफ्नो मताअधिकार प्रयोग गरे तर उच्च निगरानीका बीच। निर्वाचनको बेला सामान्य नागरिकको ज्वरो थर्मल स्क्यानरको सहयोगले चेक गरिएको थियो। उनीहरूले मुखमा मास्क र हातमा प्लास्टिकको पञ्जा लगाएर मतपत्र बोक्दै आफ्नो भाग्यविधाता चुने।
हाम्रो देशमा नक्कल गर्ने परम्परा नयाँ होइन। तर, नक्कल गर्दा अक्कल पनि चाहिन्छ। प्रधानमन्त्री केपी ओलीले दक्षिण कोरियाको मोडल अपनाएको भए यति आलोचित हुँदैन्थे। अहिले अमेरिकादेखि सारा विश्व चीनसँग जोडिएको दक्षिण कोरियाले कसरी ‘लकडाउन’ बिना विश्वका लागि टाउको दुखाई बनेको संक्रमणसँग प्रभावकारी ढंगले लड्न सक्यो भनेर अध्ययन गरिरहेका छन्।
नेपालका प्रधानमन्त्रीले कुनै देशको नक्कल नगर्ने हो भने पनि आफ्नो देशको जनता अविलम्ब फर्काउनु पर्छ। भारतीय सीमामा बसेका नेपाली झन् बढी असुरक्षित छन्। उनीहरूलाई भेडाबाख्राको बथानमा राखे जस्तै राखिएको छ। अमेरिकाले आफ्नो देशमा कोरोनाको उच्च जोखिम हुँदा त आफ्नो नागरिक विश्वबाट घर फर्कायो।
राज्यको चरित्र भनेकै विपतमा नागरिकको ढाल बन्ने हो। यति सामान्य जानकारी पनि नभएको व्यक्तिलाई देशको नेतृत्व गर्ने अधिकार रहन्न। जुन अधिकार यो सरकार गुमाउँदै गइरहेको छ।