राष्ट्रपति ट्रम्पकाे उक्साहटले अमेरिकामा लकडाउन उल्लंघन, सामाजिक दूरी कायम गर्न विज्ञकाे आग्रह

बिएल संवाददाता

न्युयाेर्क

प्रदर्शनकारीहरुले अमेरिकामा लकडाउनको विरोध गर्दै प्रदर्शन जारी राखेका छन्।

टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौँको संख्यामा जम्मा भएर प्रदर्शनकारीले राज्यमा जारी लकडाउन अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

अमेरिकाका अधिकांश क्षेत्रमा कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि लकडाउन लागु गरिएको छ। तर अर्थतन्त्रमा असर परेको भन्दै प्रदर्शन हुँदै आएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई समर्थन र साथ दिएका छन्। विशेष गरी डेमोक्र्याटिक पार्टीका गभर्नर रहेका राज्यलाई लक्षित गरेर ट्रम्पले प्रदर्शनकारीले समर्थन गर्दै आएका हुन्।

स्वास्थ्य अधिकारीले अहिले नै लकडाउन खुकुलो पार्दा वा खोल्दा संक्रमण फैलिने जोखिम रहने भन्दै चेतावनी दिएका छन्।

तर ट्रम्प प्रशासनले भने लकडाउन खोल्ने तयारी गरिरहेको छ। अमेरिकामा अहिले सामाजिक तथा भौतिक दूरी कामय गर्नु पर्ने नियम छ। तर प्रदर्शनकारीले त्यसको उल्लंघन गरिरहेका छन्।  


लकडाउन खोल्न परीक्षण तीन गुणा बढाउनु पर्ने विज्ञको सुझाव

अमेरिकामा लागु सामाजिक तथा भौतिक दूरी कायम गर्ने सम्बन्धी नियम अर्थात लकडाउन खुलाउन र सार्वजनिक गतिविधि खुलाइ रहनका लागि कोरोनाको संक्रमण रहे नरहेको थाहा पाउनका लागि हुने परीक्षण अहिले भइरहेको भन्दा तीन गुणाले बढाउनु पर्ने विज्ञले बताएका छन्।

हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युडका फ्याकल्टी डिरेक्टर डा. आशिश झा, सर्जन तथा हार्वर्डका अनुसन्धानकर्ता डा. थोमस साइ र हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्यूडका रिसर्च एसिस्टेन्ड बेन्जामिन ज्याकोब्सनले यसका लागि दैनिक कम्तिमा पाँच लाख मानिसको परीक्षण गरिनु पर्ने बताएका हुन्। 

अहिलेसम्म अमेरिकामा ३६ लाख ९० हजार भन्दा बढीको परीक्षण भएको छ। अर्थात दैनिक डेढ लाखको हाराहारीमा परीक्षण हुँदै आएको छ। 

यसरी हुँदै आएका परीक्षणमा २० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले परीक्षण गरिएका मध्ये संक्रमण पोजेटिभ आउने दर तीनदेखि १२ प्रतिशतको बिचमा रहनु पर्ने उल्लेख गरेको छ। तर अमेरिकामा अहिले पनि संक्रमण पुष्टि हुने दर झण्डै २० प्रतिशत रहेको छ।

आउँदो मे १ सम्म परीक्षण गरिएका मध्ये १० प्रतिशतमा मात्रै संक्रमण पुष्टि हुने अवस्था आउनका लागि परीक्षण दरलाई तीव्र गतिमा बढाउनु पर्ने अनुसन्धानमा उल्लेख छ। त्यसका लागि हरेक दिन झण्डै पाँच लाख ८० हजार मानिसको परीक्षण गरिनु पर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धानकर्ताले यस्तो चेतावनी दिए पनि अमेरिकामा सार्वजनिक स्थल खुला गर्ने क्रम सुरु भइसकेको छ। स्थानीय समय अनुसार शुक्रबार बेलुकादेखि नै फ्लोडिराको ज्याक्सन भिला समुद्री किनार खुल्ला गरिएको छ। मानिसहरु त्यहाँ ठूलो संख्यामा गएको देखिएको छ।

जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट ३८ हजार ६६४ जनाको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या सात लाख ३२ हजार भन्दा बढी रहेको छ। 
 

प्रकाशित मिति: : 2020-04-19 08:40:14

प्रतिकृया दिनुहोस्