जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा पैसा छररे फरार भएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन्।
उनी दुवैजना नातामा भाउजू र नन्द हुन्। आज दिउँसो जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरुलाई पक्राउ गरिए जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले बताए।
शुक्रबार १२ः३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्र रूपमा थालिएको थियो।
उनीहरुलाई नियन्त्रणमा लिनको लागि सिसिटिभी फुटेजको साहरा लिइएको प्रवक्ता कार्कीले बताए। ‘सिसिटिभी फुटेजमा मुख छोपेकी दुईजना महिलाहरु देखिएपछि प्रहरीले उनीहरुको खोजी तीव्र पारेको थियो,’ उनले भने,‘फुटेजहरु झिकाएर शंकास्पद देखिएका र स्थानीयले भनेको हुलियाको आधारमा उहाँहरुलाई नियन्त्रणमा लिइएको हो।’
सोधपुछ तथा अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए।
शुक्रवार दिउँसो महावीर चौकको सडकमा महिलाले १० रुपैयाँको १५ वटा नोट बाटोमा छरेर भागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले नोटबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै शुक्रबार साँझ घटनास्थलमा स्यानिटाइजर छर्केको थियो। त्यसैगरी नोट बरामद गरी ल्याब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो।
याे पनि