चीनमाथि खनिदै ट्रम्प: भन्छन्– शत्रुले मृतककाे तथ्यांक अचानक दोब्बर बनायाे

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन्।

चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले  ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गरायो। तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ।’

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने झण्डै ७ लाख जनामा संक्रमण पुष्टि भएको छ।

चीनले शुक्रबार हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेको थियो, जसमा १ हजार २ सय ९० जना मृतक थपिएका थिए। यससँगै हुबेईमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर ३ हजार ८ सय ६९ पुगेको थियो भने पूरै चीनमा मृतकको संख्याको कूल संख्या ४ हजार ६०० पुगेको थियो।

चिनियाँ अधिकारीहरुका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन्। महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेको बताइएको छ।

अमेरिकाले सुरुदेखि नै चीनले कोरोनाबाट मानवीय क्षतिको वास्तविकता लुकाएको र डब्ल्यूएचओले पनि चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आएको छ। उनले विश्व स्वास्थ्य संगठनमाथि पनि आक्रमण गर्न छोडेनन्। डब्लुएचओले पनि महामारीको गाम्भीर्यतालाई नबुझेको आरोप ट्रम्पले लगाउँदै आएका छन्। समयमै डब्लुएचओले आफूलाई जानकारी नदिएको ट्रम्पको भनाई छ।

चीनमा के भइरहेको छ भन्ने बारे समयमै जानकारी नदिँदा समस्या आएको ट्रम्पले उल्लेख गरे। गएको मंगलबार ट्रम्पले अमेरिकाले डब्लुएचओलाई गर्दै आएको सहयोग रोक्न निर्देशन दिएको बताएका थिए। त्यसपछि ट्रम्पको विश्वभरबाट आलोचना भइरहेको छ। र पनि उनले डब्लुएचओको आलोचना गर्न छोडेका छैनन्।

उनले सन् २०२२ को ओलम्पिक आयोजना गर्ने अधिकार चीनबाट खोसिनु पर्ने पनि बताए।

चीनसँग म खुशी छैनः ट्रम्प

राष्ट्रपति ट्रम्पले आफू चीनसँग खुशी नरहेको बताएका छन्।

चीनले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतिबारे समयमै सचेत नगराएको आरोप ट्रम्पको छ। 

उनले भने, ‘म चीनमा के भइरहेको छ हेर्न चाहन्छु। उनीहरुले कसरी काम गरिरहेका छन् हेर्न चाहन्छु।’ त्यसपछि उनले भने, ‘यसलाई यसरी प्रस्तुत गरौँ, म खुशी छैन। म खुशी छैन है।’

अहिलेको ट्रम्पले महामारी फैलिन नदिनका लागि लागु गरिएको लकडाउन खुलाउने तयारी गरेका छन्।

यस्तै विभिन्न राज्यमा भएका प्रदर्शनहरुको समर्थन पनि गरेका छन्। तर डब्लुएचओले भने महामारी अझै फैलिन सक्ने र आरडिटी परीक्षणको भर परेर लकडाउन खुकुलो पार्न वा हटाउन नहुने चेतावनी दिएको छ।

 

प्रकाशित मिति: : 2020-04-18 07:48:15

प्रतिकृया दिनुहोस्