सरकारले कोभिड-१९ को जोखिम रोक्नका लागि गरेको लकडाउन अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासमा कडाइ गरेको छ। प्रशसनले बिहिबार एक सूचनामार्फत मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिका लागि मात्रै इ–पास उपलब्ध गराउने जनाएको छ।
सूचनामा उल्लेख भएअनुसार सवारी इ–पास पेश भएको प्रमाणका आधारमा परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिलाई मात्र प्रदान गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानबहादुर ढकालले जानकारी दिए।
'सवारी पास लिने अत्याधिक भएपछि त्यसको व्यवस्थापन गर्न उक्त निर्णय लिइएको हो', उनले भने, 'इ–पासका लागि एक हजार ६ सयले निवेदन दिएका छन्।'
अन्य सामान्य विषयका लागि इ–पास प्रणालीमा अनुरोध नगरिदिन समेत उनले आग्रह गरे। लकडाउन थप प्रभावकारी बनाई कोभिड– १९को सङ्क्रमण रोकथाम र नियन्त्रणमा सहयोग गर्न आग्रहसहित सूचना जारी गरिएको ढकालले बताए। 'जिल्ला प्रशासन कार्यालय कास्कीले गृह मन्त्रालयको निर्देशनलाई समेत ध्यान दिँदै बिहिबारदेखि इ–पासको शुरुआत गरेको छ।'