यौन दुर्व्यवहारको अभियोग जो बाइडेनद्वारा अस्वीकार

बिएल संवाददाता

काठमाडाै‌ं

अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफूमाथि एक पूर्व सहयोगी महिलाले लगाएको यौन दुर्व्यवहारको अभियोग अस्वीकार गरेका छन्।

झण्डै ३० वर्षअघि बाइडेन सिनेटर रहेका बेला तारा रिड नाम गरेकी ती महिलाले बाइडेनको कार्यालयमा केही समय सहयोगीका रुपमा काम गरेकी थिइन।

बाइडेनले आफूलाई भित्ता तर्फ धकेलेर हात सर्ट तथा स्कर्ट भित्र पसाएको आरोप लगाएकी छन्।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने लगभग पक्का भएका बाइडेनले आरोप अस्वीकार गरेका छन्। उनको चुनावी अभियानले यस्तो कुनै पनि घटना नभएको बताएको छ।

बाइडेनको चुनावी अभियानले भनेको छ, ‘ती महिलाको कुरा सुनिनु पर्छ र सम्मानसहित सुनिनु पर्छ। र यस्ता अभियोगहरुलाई स्वतन्त्र सञ्चारमाध्यमले तत्परतापूर्वक पुनरावलोकन गर्नु पर्छ। यो आरोपको स्पष्ट कुरा यो हो कि, यो सरासर झुट हो।’

५६ वर्षकी रिडले पोडकास्ट होस्ट केटी हाल्परसँगको अन्तर्वार्तामा गएको मार्चमा सो आरोप लगाएकी हुन्। सन् १९९३ को बसन्तमा तत्कालीन सिनेटर बाइडेनको जिम ब्याक ल्याउन आफूलाई लगाइएको र आफू बाइडेनसँग एक्लै परेको रिडले बताएकी छन्।

रिडले अप्रिल ९ मा बाइडेनविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। उनले सो उजुरीमा आफू यौन दुर्व्यहारबाट पीडित भएको उल्लेख गरेकी छन्। तर त्यसमा बाइडेनको नाम भने उल्लेख गरेकी छैनन्। सुरक्षाका कारण मात्रै आफूले सो उजुरी दर्ता गरेको ट्वीट मार्फत ती महिलाले उल्लेख गरेकी छन्।

प्रकाशित मिति: : 2020-04-16 06:25:29

प्रतिकृया दिनुहोस्