कोरोनाबाट जोगिन स्थानीय व्यापारी गुड्डुले गरे आफ्नो ठाउँमा यस्तो पहल 

सप्तरीको तिलाठी गाउँपालिकाका स्थानीय व्यापारी सुरजित सिंह गुड्डुले कोरोना भाइरसविरुद्ध गाउँमा किटनाशक औषधि छिटेका छन् । 

करिब ३३१ घरधुरीमा किटनाशक छिटेका उनले गाउँका अशक्त, असहाय र गरिबलाई साबुन, स्यानिटाइजर तथा प्रतिपरिवार २ हजारका दरले खाद्यन्न तथा औषधि किन्न नगद सहयोग पनि गरेका छन् ।

कोभिड–१९ अर्थात् नोबल कोरोना भाइरसको महामारी विश्वभरि फैलिरहेको अवस्था नेपालमा पनि यसको प्रकोप देखिएको छ । फलस्वरुप नेपाल सरकारले विगत २२ दिनदेखि देश नै लकडान गरेको छ ।

लकडाउनको अवस्थामा कतिपय गरिब विपन्न, अशाय, अशक्तहरू खान नपाएकार भोक–भोकै बस्नु पर्ने अवस्था छ भने कतिपय सरसफाइ नगर्नाले रोग लाग्ने अवस्था छ ।

‘मसँग पैसा छ तर महामारीबाट बच्न यसको प्रयोग नगरे त्यसको कुनै अर्थ हुँदैन । कथम्कदाचित पैसा जोगाएर बस्दा रोगले हामीलाई नै लग्यो भने पैसाको के मूल्य ?’, गुड्डुले भने, ‘मैले खाएर घरभित्रै बस्दा छिमेकी भोकभोकै परे भने मलाई सन्तोष मिल्दैन । विपतका बेला त्यसबाट बच्न सबैले सके जति सहयोग गर्नुपर्छ भन्ने लाग्यो ।’

उनले तिलाठी–४ मा रहेको स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई चार थान पीपीई समेत उपलब्ध गराएका छन् । तिलाठीका अधिकांश घर, आँगन र झाडीहरूमा किटानाशक औषधि छर्किएको र आगामी दिनमा पनि कोरोनाविरुद्ध सकेको सहयोग गर्ने बताए ।

 

प्रकाशित मिति: : 2020-04-15 14:45:27

प्रतिकृया दिनुहोस्