पासको दुरुपयोग गर्नेलाई कारबाही गर्दै ट्राफिक प्रहरी

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय ट्राफिक प्रहरी महाशाखा,काठमाडौंले सवारी पासमा कडाइ गरेको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू गरिएकाे लकडाउनको अबधिमा गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग गर्न थालेपछि कडाइ गर्न लागेकाे हो। 

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायबधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए।

‘लकडाउनमा पास लिएर धेरै संख्यामा सवारी साधन गुड्ने गरेका छ। यस्तै अत्यावश्यक काम बाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अवस्था हेर्न, पास छ भनेर शान देखाउदै हिड्न गरेकाेसमेत भेटेका छौं,’ उनले भने,‘अब त्यस्ता सवारी साधनलाई ट्राफिकले निगरानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने छ।’

हालसम्म लकडाउन उल्लंघन गर्ने ८ हजार ९७४ सवारी साधन होल्ड तथा १ हजार ८४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 

त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए। 

‘अनावश्यक हिड्डुल गर्न र पासको दुरुपयोग समेत रोक्नका लागि सिभिल प्रहरी खटाउनुको साथै सिसिटिभीबाट समेत निगरानी गरेका छौं,’उनले भने,‘लकडाउनको अबधिमा मापसे गरि सवारी चलाउने, तिब्रगतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरि लकडाउन अबधिभर होल्ड गरिने छ।’

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यवस्था मिलाएको छ। यस्तै  अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेको छ। चेकजाँचको क्रममा ट्राफिकले पास भए/नभएको अलवा पासको प्रयोग, अनुमतिप्राप्त व्यक्ति लगायत थप सोधपुछ समेत गर्नेछ।  

ट्राफिक प्रहरी महाशाखाले तिब्रगतिमा सवारी नचलाउन र ट्राफिक नियमको पुर्ण पालना गर्न सबैमा अनुरोध समेत गरेको छ।

प्रकाशित मिति: : 2020-04-15 14:03:39

प्रतिकृया दिनुहोस्