काभ्रे र धादिङका थप तीन जनामा कोरोना आशंका, आइसोलेसनमा भर्ना  

वैदेशिक रोजगारीबाट फर्केका काभ्रेका दुई र धादिङका एक युवामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ।

संक्रमण देखिएपछि काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका दुई युवकलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ।

यस्तै धादिङको २७ वर्षीय युवकको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ। ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते (मार्च ४) मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उनीहरूको स्वाब नमुना संकलन गरी परीक्षणका प्रक्रिया सुरू गरिएको स्वास्थ्य कार्यालय काभ्रे र धादिङले जनाएका छन्।

बेथानचोक–५ का ती युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए। यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट काभ्रे आएका थिए।

नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनीहरु घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।

चैत्र १ गतेदेखि विभिन्न मितिमा स्वदेश फर्किएका जिल्लाका २ सय ५१ गतको द्रूत परीक्षण भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए।

फागुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको झाले जानकारी दिए।

डा. झाका अनुसार, कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, मलेसिया, बहराइन, जोर्डन, न्यूजिल्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युएई, ओमान, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कम्बोडियालगायतका मुलुकहरुबाट जिल्लाबासीहरु स्वदेश फर्किएका छन्।

पनौतीमा १ सय १, मण्डनदेउपुरमा ३८, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथान्चोकमा २२, तेमालमा १८, नमोबुद्ध नगरपालिकामा १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लुमा ३ जना फर्किएका छन्।

विदेशबाट फर्किएका केहीको स्वास्थ्य परीक्षण भए पनि लक्षण नदेखिएकाहरु होम क्वारेन्टाइनमा रहेको झाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-14 18:44:27

प्रतिकृया दिनुहोस्