लकडाउनमा पनि पशुपति परिसर चिटिक्क, रोकिएन सफाइ (तस्बिरहरू)

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीले धेरै कामलाई प्रभावित गरे पनि पशुपति मूल मन्दिर क्षेत्रको सफाइ भने जारी छ।
 
विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीले आराध्यदेवका रुपमा पुज्ने पशुपतिमा ‘खेम्स क्लिनिङ’ ले तीन वर्षअघिदेखि सफाइ शुरु गरेको थियो। यो सफाइ अभियान शुरु भएपछि विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र सफा देखिन थालेको छ। सफाइ शुरु गरेपछि पशुपति क्षेत्रमा धार्मिक पर्यटकको सङ्ख्यासमेत बढेको छ ।
 
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल कोरोना फैलन नदिन भक्तजनलाई प्रवेश निषेध गरिए पनि परेवाको विष्टाका कारण हुने फोहर सफाइका लागि पनि अभियान जारी रहेको बताए। कुचो लगाउने, पानी हाल्ने, पुछ्ने काममा सफाइकर्मी सक्रिय हुने गरेका छन् । 
 
बन्दाबन्दी भए पनि दैनिक १५ जना सफाइकर्मी पशुपतिमा खटिएको खेम्स क्लिनिङका स्थलगत अधिकृत नवराज भट्टराईले जानकारी दिए। सफाइपछि कोभिड १९ भाइरसबाट बच्न २५ लिटर पानीमा एक ट्याब्लेट ‘क्लोरोसेट’ हाली छर्कने गरिएको छ। यस्तो पानी छर्किएपछि छ घण्टासम्म कोरोनाका किटाणु आउन नसक्ने प्रयोगशालामा प्रमाणित भएको उनले सुनाए।

खेम्स क्लिनिङले त्रिपुरेश्वरको नेपाल आँखा अस्पताल, सुकेधाराको ह्याम्स अस्पताल, ग्वार्कोको किस्ट अस्पताल र भारतीय राजदूतावासमा पनि सफाइ जारी राखेको जनाएको छ। 

यी अस्पतालमा सफा गर्नेलाई भने व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) पनि दिइएको छ । अस्पतालमा कोरोनाका भाइरसका बिरामी पनि आउन सक्ने भएकाले सुरक्षा सामग्री दिइएको हो । 

सफाइ नहुँदा कोरोनालगायत विभिन्न रोगको सङ्क्रमण फैलन सक्ने भएकाले घर घरमा पनि सफाइ गर्न चाहनेले खबर गरेमा सेवा दिइने गरेको जनाइएको छ।

हेर्नुहोस् चिटिक्क पशुपति

प्रकाशित मिति: : 2020-04-14 18:12:06

प्रतिकृया दिनुहोस्