जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोप लागेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो। त्यसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिनको समय दिएको प्रहरीको उच्च स्रोतले बिएल नेपाली सेवालाई जानकारी दिए।
यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय मंगलबार नै सकिएको छ।
महानरीय प्रहरी अपराध महाशाखाको टोलीले गत मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेपछि शंकर ग्रुपका मालिक अग्रवालको घर समेत प्रहरीले खानतलासी गरेको थियो।
उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको थियो। ति थर्मल गन पाँच हजार रुपैयाँ पाइने गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको प्रहरीकाे आरोप छ।
कीर्गिस्तानमा अवैतनिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको थियो। उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी पनि प्रहरीले बरामद गरेको छ।
उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए। प्रहरी नै स्वास्थ्य उपकरण खरिद गर्न गाडीमा नाम नै टास गरेर १५ लाखमा १०० थान लिन १० लाख बोकेरै गएको स्रोतको दावी छ।