महावीर पुनको अनुरोध– बिग्रेका ‘थर्मल गन’ भए हामीलाई दिनुस्, नयाँ बनाउँछौँ

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बिरामीको तापक्रम नाप्ने ‘थर्मल गन’ बनाउने सामान बजारमा नपाइएकाले कसैसँग बिग्रेका ‘थर्मल गन’ छन् भने केन्द्रलाई उपलब्ध गराइदिनुहुन आह्वान गरेका छन् । 

पुनले आविष्कार केन्द्रमा टीम बनिसकेको र काम पनि सुरु भइसकेकाले तर त्यसको ‘एमएलएक्स९०६१४ इन्फ्रायर्ड सेन्सर’ बजारमा नपाएकाले बिग्रेका ‘थर्मोगन’ बाट त्यस्ता सेन्सरहरू झिकेर कामचलाऊ थर्मोगन बनाउन लागेको पनि उनले जानकारी दिएका छन् । 

रामोन म्यागासेसे पुरस्कार विजेता सामाजिक अभियन्ता पुनले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक उपकरण बनाउने क्रममा ‘थर्मोगन’ बनाउन लागिपरेका छन्।

पुनले फेसबुक र ट्वीटरमार्फत उनले बिग्रेको वा काम नगर्ने लेजर थर्मोगनको लागि अस्पतालहरु र सुरक्षाकर्मीहरुलाई अनुरोध गरेका छन्, ‘सेन्सरको सामानहरु पायो भने यी थर्मोगनहरु पक्कै बन्छ, बन्छ १००५ बन्छ।’

उनले आह्वान गरेका छन्, ‘यदि तपाईहरु संग बिग्रेको अथवा काम नगर्ने लेजर थर्मा्मिटर अथवा IR थर्मोगन छ भने र राष्ट्रिय आविष्कार केन्द्रलाई दिन चाहनुहुन्छ भने मलाई तुरुन्त 9841592361 मा सम्पर्क गर्नुहोला।’’ 

पुनले कोरोनाको सिकिस्त बिरामीहरुको उपचारको लागी आवश्यक दुई ओटा नयाँ चिजहरु एरोसोल बक्स र इमर्जेन्सी भेन्टिलेटर आविष्कार केन्द्रमा तयार भएको पनि उनले जानकारी दिए । उनले वीर अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज), शहीद गंगालाल हृदयरोग केन्द्र (बाँसबारी), सैनिक अस्पताल छाउनीमा भएका बिग्रेका भेन्टिलेटरहरु मर्मत गर्ने काम पनि धमाधम भइरहेको जानकारी दिएका छन् । 

महावीर पुनको नेतृत्वमा देशभरिका अस्पतालहरुमा कोरोना परीक्षण बुथहरूको निर्माण भइसकेका छन् । पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट (पीपीई) को सट्टामा सिसाले घेरिएका यस्ता बुथहरूभित्र डाक्टर बसेर परीक्षण गर्ने शैली दक्षिण कोरियाको अभ्यासबाट सिकेको अभियन्ता पुनल बताएका छन् ।

यस्ता बुथ बनाउन अहिले १६ वटा टोलीले देशभरिका अस्पतालमा काम गरिरहेको छ । सुरुमा काठमाडौंको वीर, पाटन र पोखराको गण्डकी अस्पतालमा बनाएर परीक्षण पनि देशभरिका अस्पतालमा बनाइएका हुन् ।

आविष्कार केन्द्रले बनाएका पीपीई अहिले देशभरिका अस्पताललाई वितरण गरिरहेको छ । यहाँबाट दुई हजारभन्दा बढी पीपीई बाँडिसकिएको छ। त्यस्तै,अस्पतालहरूका बिग्रेका भेन्टिलेटर मर्मत गरेको छ भने कोरोना संक्रमितका लागि खाना पु¥याउने रोबोट पनि निर्माण भइरहेको छ । 

पीडितलाई सहयोग गर्न अनुरोध 

सामाजिक अभियन्ता पुनले आइतबार नयाँ वर्ष २०७७ को शुभकामना दिँदै काठमाडौं छाडेर भारी बोकी पैदल तराई हिँडेका मजदुरलाई सघाउन आग्रह गरेका छन् । ‘तिनीहरु मजदुरहरु हुन् र उनीहरुको काठमान्डूमा बस्ने डेरा पक्कै छैन र खानको लागि खर्च छंदै छैन. लकडाउन बढ्यो भने पक्कै पनि मरिन्छ भनेर तिनीहरु आफ्ना परिवार भेट्न हिंडेका हुन्’, उनले भनेका छन्, ‘तिनीहरुको समस्या समाधान गरिदिन निम्न अनुसार कदम चाल्नु पर्ने देखियो।’

चेतनशील वर्गलाई सम्बोधद गर्दै उनले गरेको अनरोध यस्तो छ– 

१. चाल्न सकिने पहिलो कदम स् यिनीहरुलाई लकडाउनमा बाहिर हिड्नु हुँदैन भनेर सम्झाई बुझाई गरेर कुनै विद्यालयको खाली भवनमा खान बस्नको व्यवस्था गरिदिने। खान र बस्नको व्यवस्था गरी दियो भने पक्कै पनि धेरै जसो खुसी साथ बस्ने थिए होला र हिँडेरै भए पनि घर जान तम्सिने थिएनन् होला। यसो गर्दा केहि खर्च ता लाग्छ तर खर्च जुटाई दिने धर्मात्माहरु र भगवानहरु पनि ता पक्कै पाइन्छन् ।

२. चाल्न सकिने दोस्रो कदम : यिनीहरुको लागी माथिको पहिलो कदम नचाल्ने हो भने र बाध्य भएर हिंडी सकेका मजदुरहरुको उद्धार गर्ने हो भने हाईवेमा नेपाली सेना अथवा नेपाल सशस्त्र प्रहरी अथवा नेपाल प्रहरीले चार, पांच वटा ट्रक पठाएर घर घरमा पुर्याई दिए भैहाल्छ. यति काम गर्न ता सरकारलाई कुनै गाह्रो पर्दैन होला त ! 

यदि सरकारले नगर्ने हो भने ट्रक चलाउने पास उपलब्ध गराई दिए पुग्छ. पास पाए पछि यो काम ता जोसुकैले पनि गर्न सक्छ. राष्ट्रिय आविष्कार केन्द्रले पनि ता भाडामा चार, पाँच वटा ट्रकको बन्दोबस्त गर्न सक्छ. यत्ति गरि दिने हो भने ति बाटोमा हिंडेर घर जाने मजदुरहरु र उनीहरुको परिवारले सात पुस्तालाई पुग्ने आशिर्बाद दिने थिए । यसो गर्दा यदि कोरोनाको शंका छ भने तिनीहरुको स्वास्थ्यको परीक्षण गरि सबैको नाम र ठेगाना राखे भै हाल्छ नि ।

लौ त केहि गर्नलाई सम्बन्धित निकायलाई सल्लाह पुर्याउनु होस् कि त सरकारले नै यो काम गरोस. सरकारले नगर्ने भए ट्रकको पास सम्म देओस् । बाँकी काम हामीले गर्न सकिन्छ ।

याे पनि

१‍) कोरोना उपचार गर्दा डाक्टरले लगाउने पीपीईकाे जिम्मा लिए महावीर पुनले

२) महावीर पुन भेन्टिलेटर बनाउँदै, कोरोना जाँच्ने बुथ बनाउन इञ्जिनीयर खाेजी

३) महावीर पुनले यसरी पूरा गर्दैछन् कोरोना उपचार गर्ने डाक्टरको पीपीई  (भिडियो)

४) महावीर पुनलाई देशभरिका अस्पतालमा कोरोना उपचार बुथ बनाउन भ्याई-नभ्याई, नयाँ भेन्टिलेटर बन्दै, बिग्रेका मर्मत हुँदै

५) महावीर पुनले जिम्मा लिएको डाक्टरको पीपीई तयार, आजदेखि डेलिभरी (भिडियाेसहित)

६) महावीर पुनले तयार पारे कोरोना सङ्क्रमितका लागि ‘एरोसोल बक्स’ र ‘इमर्जेन्सी भेन्टिलेटर’

७) महावीर पुन काेराेना सङ्क्रमितलाई खाना लगिदिने राेबाेट बनाउँदै , आविष्कार केन्द्रले काेराेनाविरुद्ध गर्‍याे यति काम

प्रकाशित मिति: : 2020-04-14 15:16:39

प्रतिकृया दिनुहोस्