भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ३९ पुगेको छ। भारतमा पछिल्लो २४ घण्टामा मात्रै यो संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ।
भारतको महाराष्ट्रमा मात्र अहिलेसम्म एक सय ६० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार तीन सय भन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ।
त्यस्तै, मध्य प्रदेशमा ४३, दिल्लीमा २८ र गुजरातमा २६ जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमित हुने मानिसको संख्या १० हजार नाघेको छ। एकै दिन १ हजार बढी संक्रमित फेला परेपछि यहाँका कुल संक्रमितको संख्या १० हजार ३ सय ६३ पुगेको हो।
लकडाउनकै बीच भारतमा कोरोना संक्रमण बढेको हो। प्रकोप न्यूनीकरणका लागि भारतले मंगलबार मात्रै जारी लकडाउन ३ साता लम्ब्याउने निर्णय गरेको छ।