कोरोना भाइरसको सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत सङ्कलन कार्य अघि बढाएको छ।
कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्याङ्क सङ्कलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले सोमबारदेखि अभियान शुरु थालेको छ।
लम्की चुहा नगरपालिकाले ४ सय ८४ जना र जानकी गाउँपालिकामा २ सय ३७ विदेशबाट आएका नागरिक पत्ता लगाएको लम्की चुहा नपाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी दिए।
'यसरी पत्ता लगाएका व्यक्तिको सोमबारबाटै ¥यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको छ' उनले भने, ‘हामीलाई पाँच सय परीक्षण किट प्राप्त भएको छ, मानिसहरु अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै छन्।'
लम्कीका दुई नागरिकमा कोभिड १९ सङ्क्रमण देखिएपछि त्रास बढेको बताउदैं उनले भने, 'हामीले सम्पर्कमा नआएका नागरिकहरु पनि खोज्न थालेका छौं।'
धनगढी उपमहानगरपछि ठूलो जनसङ्ख्या भएको टीकापुर नगरपालिकामा खोजी अभियान शुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए।
उनका अनुसार एक २७ टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेवी गरी २ सय ५४ जना परिचालन गरिएको छ। 'परिचालन गरिएका स्वास्थ्यकर्मी र स्वयंसेवीले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, साबुन पानीले हात धुन सिकाउने र साबुन वितरण गर्नेछ' उनले भने, 'विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड १९ का लक्षण र बच्ने उपायबारे जानकारी पनि गराइनेछ।'
तीन दिनभित्र तथ्याङ्क सङ्कलन गर्ने रणनीतिअनुसार काम शुरु गरिएको संयोजक रावलले बताए। 'टीकापुरमा विदेशबाट आएकाहरु ३३० जना छन्' उनले भने, 'तथ्याङ्क सङ्कलनपछि आरडिटी विधिबाट छिटो परीक्षण गरिनेछ।' हालसम्म ६० जनाको ¥यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको उनको भनाइ छ।