अमेरिकामा घट्दैछ कोरोना संक्रमित र मृतक संख्या, प्रिय बन्दैछन् अप्रिय तथ्यांकहरू 

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

कोरोना संक्रमणको पछिल्लो इपिसेन्टर बनेको अमेरिकाका हरेक तथ्याक क्रमश: प्रिय आउन थालेका छन्। संक्रमित र मृतंक संख्याको ग्राफ शुक्रबारपछि ओरालो लागिरहेको छ। यसले डरको मनोविज्ञानलाई भगाएर एक किसिमको राम्रो अनुभूतिको मनोविज्ञान विकास हुन थालेको छ।

शुक्रबार एकैदिन अमेरिकामा २०३५ को निधन भएर एकैदिन कोभिड-१९ बाट सबैभन्दा बढी मर्नेको डरालाग्दो कीर्तिमान बनेको थियो । तर, त्यसपछिका दुई दिनमा यो संख्यामा क्रमश: कमी आएको छ। आइतबार १८३० को मृत्यु भएकोमा सोमबार अझ घटेर १५२८ मा ओर्लिएको छ। मंगलबार यो समाचार तयार पारूञ्जेल ८८३ को मात्र मुत्यु भएको छ। सोमबार यतिबेलासम्म १०७४ व्यक्तिको मृत्यु भैसकेको तथ्यांक सार्वजनिक भएको थियो । त्यसलाई आधार मान्दा आज मृतकको ग्राफ अझ तल ओर्लिने निश्चित छ। 

अमेरिकामा पनि कोरोनाको इपिसेन्टर मानिएको न्युयोर्कमा पनि संक्रमित र मृतकको संख्या घट्दै गएको छ। शनिबार यहाँ ७५८ को निधन भएकोमा आइतबार ६७१ को मात्र निधन भएको तथ्यांक न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोओले सार्वजनिक गरेका छन्।

यो ओर्लिदो ग्राफलाई देखेर राष्ट्रपति ट्रम्प भने यथाशक्य चाँडो अमेरिका खुलाउन उत्साहित भएका छन्। तर, उनका स्वास्थ्यविज्ञहरू भने अहिले नै त्यस्तो सोच्नु हतार हुने भन्दै उनलाई चेतावनी दिइरहेका छन्। यही विषयलाई लिएर राष्ट्रपति र डा. एन्थोनी फाउचीबीच दूरी बढेको समाचार बाहिरिएको छ।

यसैगरी अमेरिकामा शुक्रबार ३३ हजार नयाँ सक्रमित पाइएकोमा शनिबार ३० हजार  र आइतबार २७ हजार पाइएको छ। यो संख्या पनि हरेक दिन तीन हजारले घटेको छ।

यो समाचार तयार पारिरहेको बेलासम्म अमेरिकामा ५,७३,८१६ संक्रमित छन्। सोमबार १३,५१६ नयाँ सक्रमित पाइएका छन्। यो संख्या पनि आइतबारको यतिबेलासम्मको भन्दा थोरै हो।

गत साता डरलाग्दो किसिमले ठाडै उकालो लागेको कोरोना ग्राफ सप्ताहान्तपछि ओरालो लाग्न थाल्नुलाई अमेरिकामा कोरोना परिवेग विस्तारै घट्न थालेको अनुमान गरिएको छ। विशेषज्ञहरूले पनि यसलाई सकारात्मक रूपमा लिदै सावधानी अपनाउने क्रम जारी राख्न आव्हान गरेका छन्। 

यसैबीच यो ओर्लिदो ग्राफलाई देखेर राष्ट्रपति ट्रम्प भने यथाशक्य चाँडो अमेरिका खुलाउन उत्साहित भएका छन्। तर, उनका स्वास्थ्यविज्ञहरू भने अहिले नै त्यस्तो सोच्नु हतार हुने भन्दै उनलाई चेतावनी दिइरहेका छन्। यही विषयलाई लिएर राष्ट्रपति र डा. एन्थोनी फाउचीबीच दूरी बढेको समाचार बाहिरिएको छ। ट्रम्पका अतिदक्षिणपन्थी सहयोगीहरू डा. फाउचीलाई हटाउन दवाव बढाइरहेको पनि अमेरिकाका मूलधारका मिडियाहरूले खबर दिएका छन्। 

प्रकाशित मिति: : 2020-04-13 23:24:54

प्रतिकृया दिनुहोस्