देशमा समस्या नै समस्या उत्पन्न : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड-१९ का कारण लकडाउन हुँदा देशमा समस्या नै समस्या उत्पन्न भएको बताएका छन्। 

सोमबार प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिंदै मुख्यमन्त्री पौडेलले समस्या नै समस्याका बीचमा पनि काम गर्नुपर्ने बाध्यता रहेको बताएका हुन्। 

व्यावहारिक भएर लकडाउनलाई कडा गर्न आग्रह गर्दै उनले भने, 'लकडाउनलाई कानूनको उल्लङ्घन नहुने गरी कडा बनाउनुपर्छ।'

प्रदेशको राजधानी तथा प्रदेशका १३ वटै जिल्लाका बजारमा भीड बढेको सूचना आइरहेकाले लकडाउनको प्रभावकारितामा नै प्रश्न उठ्ने बताउँदै तत्काल ध्यान दिन उनले अनुरोध गरे।

'काठमाडौँलगायत देशका विभिन्न क्षेत्रबाट आफ्नो घर पुग्न  पैदल हिँडेका व्यक्तिहरुको उचित व्यवस्थापन गर्नुपर्छ' उनले भने, 'एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नै नदिने गरी सुरक्षा प्रमुखले काम गर्नुपर्छ।'

आवाससहितका उद्योगलाई सामाजिक र व्यक्ति व्यक्तिबीचको दूरी कायम गरेर तथा मापदण्डभित्र रही उत्पादन शुरु गर्न दिन अनुरोध गरे। 'कृषि उपजको उत्पादन, व्यवस्थापन र बजारीकरणलाई भने सहज आपूर्ति तथा बिक्री वितरणको व्यवस्था गर्नुपर्छ' उनले भने। 

प्रकाशित मिति: : 2020-04-13 17:22:03

प्रतिकृया दिनुहोस्