सरकारले कोभिड-१९ को जोखिम रोक्नका निम्ति गरेको घोषणा लकडाउनका कारण कञ्चनपुरमा वन्यजन्तु तथा काठ तस्कर गर्ने गिरोह सक्रिय बनेको छ। निकुञ्ज तथा राष्ट्रिय वनमा लकडाउनको समयमा काठ तस्करीमा संलग्न व्यक्तिलाई काठसहित धमाधम पक्राउ गर्न थालिएको छ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सालका काठ काटिरहेको अवस्थामा तस्करीमा संलग्न गिरोहलाई यहाँको विभिन्न क्षेत्रबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाल सेनाले नियन्त्रणमा लिएको छ। दुई सातामा १०३ भन्दा बढीलाई नियन्त्रणमा लिई कारवाहीका लागि शुक्लाफाँटा निकुञ्जको कार्यालय पठाएको निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवीदल गण मझगाउँ ब्यारेकले जनाएको छ।
देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातका अनुसार तीन दिनअघि शुक्रबार अवैधरूपमा निकुञ्जभित्र प्रवेश गरेर अवैधरूपमा सालको रुख काट्ने चार जनालाई नियन्त्रणमा लिइएको थियो। 'हामी संरक्षणकर्मी भनेर सक्रियता देखाउने पनि यो अवधिमा काठ तस्करीमा संलग्न देखिए', उनले भने, 'अवैध क्रियाकलापमा संलग्न कसैलाई छोडिँदैन।' निकुञ्जको मध्यवर्ती क्षेत्रमा इँटाभट्टामा धानको भुसभित्र लुकाएर राखेको अवस्थामा अर्जुनी ब्यारेकले ४२३ घनफिट काठ बरामद गरेको उनले बताए।
त्यसैगरी निकुञ्जभित्र विभिन्न ठाउँमा वन्यजन्तु शिकार गर्न थापेका पासोसमेत थापेको भेटिएको सेनाले जनाएको छ। सेनाले निकुञ्ज र आसपासका क्षेत्रमा गस्ती तथा सुरक्षा सतर्कता बढाएको गणपति बस्न्यातको भनाइ छ।
'मौका हेरेर तस्करी गर्नेप्रति सेना पनि सचेत छ। हामीले पनि विभिन्न ‘अपरेसन’ बढाएका छौँ', उनले भने, 'लकडाउनको अवस्थामा निकुञ्जभित्र अवैधरूपमा प्रवेश गरी काठ तस्करी, माछा मार्ने, शिकार गर्ने कार्य बढेपछि निकुञ्जको सुरक्षामा चुनौती थपिएको छ।'
यता डिभिजन वन कार्यालय कञ्चनपुरले लकडाउनको अवधिमा काठ तस्कर सल्बलाएको जनाएको छ। डिभिजन वन कार्यालयले यहाँको पुनर्वास नगरपालिकाको जनजागरण सामुदायिक वनबाट ३६ घनफिट काठ बरामद गरेको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीका अनुसार लालझाडी गाउँपालिकाबाट अवैधरूपमा काठ तस्कर गर्ने मोटरसाइकलसहित दुईलाई नियन्त्रणमा लिएको छ। 'तस्कर सक्रिय भएपछि वन कर्मचारीले प्रहरीसँगको समन्वयमा सुरक्षा २४सै घण्टा गस्ती गरिरहेको छ' उनले भने।