लकडाउन कार्यान्वयन गराउन नसकेपछि टर्कीका गृहमन्त्रीले दिए राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन्। कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउनको कार्यान्वयन गर्न नसकेपछि उनले राजीनामा दिएका हुन्।

टर्कीका सबै ३१ शहरमा लकडाउनको घोषणा गरिएको थियो तर घोषणापछि स्थिति सहज भएन।

इस्तांबुलमा १‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.६ करोड मानिसको बसोबास छ। शुक्रबार मध्यरातिदेखि मानिसहरुलाई घरबाहिर निस्कन बन्देज लगाइएको थियो तर मानिसहरुले त्यसको पालना गरेनन्। पसलहरुमा दैनिक उपभोग्य सामान खरिद गर्नेहरुको ठूलो भीड लाग्यो।

सरकारका अधिकारीले खाद्यान्न लगायतका सामग्री घरमै आपूर्ति गर्ने भन्दै सम्झाए पनि मानिसहरुले पत्याएनन् र सामग्री खरिदका लागि पनि ठूलो भीड लाग्यो। अचानक कर्फ़्यू लगाएको भन्दै नागरिक र विपक्षी नेताहरुले सरकारको आलोचना गरे।

त्यहाँका मानिसहरु पनि सबै घर बाहिर निस्कन थाले। शहरका मेयरले ट्विटरमा भिडियो पोस्ट गरेर भने कि मानिसहरुलाई लकडाउनबारे समयमै सूचित गरिएन।

त्यसपछि गृहमन्त्री सुलेमानले उक्त परिस्थितिको जिम्मेबार आफू रहेको बताउँदै ट्विटरबाटै राजीनामाको घोाषणा गरे।

सुलेमानले ट्विटरमा लेखे, ‘ मैले नागरिकको सुरक्षाका लागि यो कदम लिएको थिएँ, यो संक्रमण रोक्नका लागि थियो।’

तर राष्ट्रपति अर्दोआनले गृहमन्त्रीको राजीनामा स्वीकार गरेका छैनन्। सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन नजिकका नेता मानिन्छन्।  उनले सुलेमान आफ्नो पदमा रहिरहने उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-04-13 08:20:30

प्रतिकृया दिनुहोस्