‘फूलहरू त धेरै थिए
तर गुलाफको फूल मन पर्यो
साथीहरू त धेरै थिए
तर तिमीलाई नै मन पर्यो’
यीनैं सुभेच्छाका साथ तिमीलाई नयाँ वर्षको शुभकामना।’
कक्षा ९ मा पढ्दै गर्दा यहीँ सायरी लेखेर साथीलाई पोस्टकार्डमार्फत नयाँ वर्षको शुभकामना पठाएँ। तर मैले पठाएको कार्ड जसले पाउनुपर्थ्यो उसले नपाएर अर्कै साथीलाई पो गएछ। अब भएन फसाद!, अहिले पनि मेरो मानसपटलमा यी याद ताजै छ।
विगतमा सबै विद्यालयहरू माध्यमिक तहसम्म हुँदैनथे। मैले अध्ययन गरेको विद्यालय माध्यमिक तहसम्म थियो। ८ कक्षा पास गरेर केही नयाँ साथीहरू मैले अध्ययन गरिरहेको विद्यालयमा जोडिन आइपुगे। त्यो नयाँ समूहमा मेरा लागि दुईजना विशेष थिए। एकजना सिर्जना र अर्की निमा।
मैले खासमा त्यो शुभकामना कार्ड नीमालाई पठाएको थिएँ। खै किन हो निमालाई पहिलो नजरमा नै मैले मन पराएको थिएँ। नयाँ वर्षको मौका पारेर पठाएको कार्ड नीमालाई नगएर अर्की साथी मञ्जुलाई पो गएछ। अब केटा साथीहरूले यता मलाई र उता मञ्जुलाई जिस्काउन थाले।
ती क्षणहरू अहिले पनि हिजोका दिन जस्तै लाग्छन्। ती नयाँ वर्षहरू अहिले पनि सुन्दर तस्वीर जस्तै मानसपटलमा सजिएर बसेका छन्।
स्कुले विद्यार्थी समयमा हरेक नयाँ वर्ष सुगन्धित हुन्थे। फिल्मका हिरो हिरोइन भएका कार्ड किन्यो। कार्डको पछाडि शुभकामना सन्देशले भर्यो। अनी कापीको बिचको पाना च्यात्यो। खामको आकार बनायो अनी एकातिर पठाउनेको नाम र अर्कातिर पाउनेको नाम लेख्यो। अनि आदान प्रदान गर्यो।
त्यसमा हुलाकीको काम गर्नेमा अरू साथीहरू हुन्थे। आहा कति रमाइला थिए ती नयाँ वर्षहरू। साथीसाथी बिच आत्मीयता हुन्थ्यो। नयाँ साल आएको जस्तै लाग्थ्यो। हामी सबैमा अर्कै प्रकारको खुसी मन हुने गर्थ्यो।
प्रत्येक नयाँ सालमा विशेष शुभकामना सन्देश पठाउने साथी खिमु र मेरो एक जना विशेष साथी थिए सुजित। सुजित हामीलाई नेपाली पढाउने शिक्षिका दिप्ति मेडमको छोरा थिए। हामी तिनै जना ३ कक्षासम्म सँगै पढ्यौ। हाम्रो त्यो बालापन निकै मजबूत को थियो। हामी तिनै जना सँगै एउटै बेन्चमा बस्ने गर्थ्यौं। जब ३ कक्षा देखि ४ मा गयौं सुजित अर्को विद्यालयमा गए। सुजित हामीसँग छुट्टिन चाहेनन्। धेरै रोए। कराए। मेरो सम्झनामा आए अनुसार धेरै दिन त उनी नयाँ विद्यालयमा अध्ययन गर्न पनि गएनछन्। तर त्यसपछि हरेक नयाँ वर्ष हाम्रो लागि विशेष बनेर आयो।
प्रत्येक वर्ष हामीले हिरो हिरोइनका कार्ड शुभकामना सन्देशका पात्र बने। अरूलाई एउटा कार्ड पठाउँदा हामीले उनलाई दुइटा कार्ड पठाउने गर्थ्यौं। यो १० कक्षासम्म निरन्तर नै चल्यो। यी क्षण सम्झँदा लाग्छ, हरेक नयाँ साल किन विगत जस्तै हुँदैन? कसले पापी आँखा लगायो?
कक्षा ९ मा पढ्दै गर्दा नयाँ वर्षसँगै अर्को विर्सने क्षण पनि कैद छन्। नयाँ साथीसँग जोडिने क्रममा हामीसँग थर्क नामका साथी पनि आए। उनी अर्घाखाँचीको कर्चुलीबाट आएक थिए। उचाइँको हिसाबमा धेरै सानो। धेरैले उसलाई भाइ भनेर बोलाउँथे, माया गर्थे। सर म्याडमको पनि फुच्चे भएको कारण प्यारो हुँदै गएको थियो ऊ।
एकदिन म, नीमा, सृजना र थर्क भएर खेल्ने क्रममा थर्क झ्यालमा अड्कियो। थर्क सानो पनि थियो अनि चकचके पनि। त्यतिखेर झ्यालमा फलामका डन्डी हुन्थे। त्यहीँ डन्डीबाट निस्कने क्रममा ऊ अडकिएको थियो। उसलाई निकाल्न नसकेपछि मैले लात्ताले उसलाई पछाडि बाट हानिदिए। ऊ तुरून्तै बाहिर निस्क्यो। यो सबैलाई सुनाएपछि एक हप्ता सम्म यहीँ सम्झँदै सबै हाँसे। अहिले पनि हाम्रो यही विषयमा हाँसो छुट्छ। जुन यही हरेक वर्ष आउने नयाँ वर्षको उपहार थियो।
कक्षा ९ पछि कक्षा १० को नयाँ वर्ष पनि साह्रै यादगार छ। म लगायत केही साथीहरूले विद्यालय परिवर्तन गर्यौं। विद्यालय परिवर्तन गर्नुको एउटै उद्देश्य थियो एस एल सीमा राम्रो नम्बर ल्याउनु। नयाँ विद्यालय नयाँ मित्र। जहाँ हामीले छोडेका साथी सुजितसँग पुनः जोडिन मौका मिल्यो।
हामीलाई विज्ञान पढाउने मोहन सर हुनुहुन्थ्यो। साह्रै कडा। पढाउने स्टाइल पनि फरक थियो। दिनहुँ कपडामा आइरन लगाए धार पारेर आउनुहुन्थ्यो। तर, उहाँको विशेष गुण थियो हरेक बिहीबार लौरो साथमा लिएर आउने। हरेक बिहीबार उहाँले प्रश्न सोध्ने गर्नुहुन्थ्यो। हरेक हप्ता पिटाई बढदै जान्थ्यो। २ लौरोबाट सुरू भएको पिटाई ८० लौरोसम्म पुग्थ्यो।
नयाँ वर्षको माहोलसँगै रमाइरहेका हामीलाई त्यो बिहीबार नआएको भए हुन्थ्यो झै लाग्या थियो। साथी लक्ष्मी निकै त्रर्सित देखिन्थिन्। तर त्यो बिहीबार मोहन सरले सबैलाई उपहार दिनुभयो। भन्नुभयो, 'म तिमीहरूलाई आज प्रश्न सोध्ने छैन। बरू तिमीहरूको पिटाई पुनः सुरू बाट हुनेछ। यो तिमीहरूलाई नयाँ वर्षको शुभकामनासँगै उपहार पनि भयो।’
मोहन सरले यति के भन्नु भएको थियो सबैले टेबल ठटाएर उहाँको प्रशंसा गरे। हरेक बिहिबारको दिनमा पिटाई नखाने क्लास भरीमा एक दुई जना मात्रै हुन्थे। नयाँ वर्ष सँगैको त्यो क्षण अहिले सबैको दिमागमा ताजै रहेको छ। जुन रमाइला त्यतिकै छन्।
स्कुले जीवनका ती नयाँ वर्षहरू अब फर्केर आउने छैनन्। कहिल्यै पनि फर्केर आउने छैनन्। त्यस्तै नयाँ वर्षहरू हामीले पाउने छैनौं। न हामीले पोस्टकार्ड खोजेर पाउँनेछौ न त कापिका पनाका लिफाफा नै। केवल रहेका छन् स्मृतिका ती क्षणहरू जसले हरेक नयाँ वर्षमा पुनः त्यहीँ समयमा डोर्याउदै पुर्याउँछ।
प्रविधिको फड्कोसँगै सबै स्कुले साथीहरू लगायत सबैलाई नयाँ वर्षको शुभकामना।