भारतमा तीर्थयात्रा गरेर फर्केकी एक ६५ वर्षीया महिलाको रिपोर्ट कोरोना भाइरस पोजेटिभ आएको छ।
आइतबार काठेखोला गाउँपालिकामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणको क्रममा वडा नं. ६ बाट आएकी ती महिलाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए।
रिपोर्ट पोजेटिभ आए पछि उनलाई क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणको तयारी गरिएको पनि उनले जानकारी दिए।
लकडाउन हुनुभन्दा केही समयअघि उनी भारतको गया भन्ने स्थानमा तीर्थयात्रा गएको खुलेको छ। उनको साथमा गएकाहरुको पनि खोजी भइरहेको र उनको घर परिवार र सम्पर्कमा रहेकाहरुको पनि स्वाब परीक्षण गर्न लगाउने गाउँपालिका अध्यक्ष अमर थापाले बताए।
उनको स्वाब संकलन गरेर तत्काल पोखरा पठाइने धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।