खाडी र युरोपियन मुलुकका १८ राजदूतहरुले १ महिनाको बापतको तलब राहत कोषमा जम्मा गर्ने भएका छन्।
सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १८ राजदूतहरुले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन्।
इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान, बहराइन, यूएई र साउदी अरबमा खटिएका ९ राजदूतहरुले शनिबार आफूहरुको एक महिना बापतको तलब योगदान गर्ने संयुक्त निर्णय गरेका यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए।
युएईका राजदुत कृष्ण प्रसाद ढकाल, ओमानका शर्मिला पराजुली ढकाल, कतारका नारदनाथ भारद्वाज, साउदी अरबका महेन्द्र प्रसाद सिंह, बहराईनका पदम सुन्दास र कुवेतका दुर्गाप्रसाद भण्डारी सहित खाडीका बिभिन्न मुलुकहरुका राजदुतहरुले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गरेका हुन्।
यसैगरी युरोपियन मुलुकका राजदुतहरुले पनि उक्त कोषमा एक महिनाको तलब दिने निर्णय गरेका छन्।
यूरोपभरका ९ जना राजदूतहरुले आआफ्नो १ महिनाको तलब दिने घोषणा गरेका छन्। शुक्रबार बसेको सामुहिक अनलाइन बैठकबाट उक्त निर्णय गरेका हुन्।
डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले ९ जना राजदूतहरुबीच भिडियो कन्फेरेन्स गरी सो निर्णय गरिएको र सो विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको बताए।
बैठकमा सहभागी राजदूतहरुमा युवनाथ लम्साल (डेनमार्क, स्वीडेन, नर्वे, फिनल्यान्ड, आइसल्यान्ड), रमेश खनाल (जर्मनी), प्रकाशकुमार सुवेदी (अष्ट्रिया), दीपेन्द्र अधिकारी (फ्रान्स), मणिप्रसाद भट्टराई (स्वीटजरल्याण्ड), दाबा फुटी शेर्पा (स्पेन), लोकबहादुर थापा (बेनेलक्स र यूरोपियन यूनियन), दुर्गाबहादुर सुवेदी ‘दुबसु’ (बेलायत) र ऋषि घिमिरे (रुस) रहेका छन्।