अमेरिका अन्तत: कोरोना भाइरस संक्रमणका सबै अप्रिय कीर्तिमान आफ्नो पक्षमा पारेर वर्चस्व कायम गर्न सफल भएको छ। उसले मृतक संख्यामा पनि इटलीलाई जितेपछि बाँकि रहेको यो कीर्तिमान पनि अमेरिकाकै पक्षमा आएको हो ।
यो समाचार तयार पारिरहेको बेला अमेरिकामा १९,८२७ को मृत्यु भैसकेको छ भने धेरै दिनदेखि शीर्ष स्थानमा रहेको इटलीमा मृतक संख्या १९,४६८ मा मात्र रहेको छ।
शुक्रबार २.०३५ को निधन भएर एकै दिन दुईहजारभन्दा माथि मृत्यु भएको कीर्तिमान बनाएको अमेरिकामा शनिबार मात्र १,०८० को मृत्यु भैसकेको छ।
न्युयोर्कमा पछिल्लो २४ घण्टामा ७८३ को मृत्यु भएको गभर्नर एण्ड्रयु कुमोओले पुष्टी गरेका छन्। यो संख्याले अझै पनि यहाँ कोरोना कहरको वेग नरोकिएको देखाएको छ।
अमेरिकामा यो सप्ताहान्त इस्टर सप्ताहान्त हो। सामान्य अवस्थामा यतिबेला अमेरिका इस्टरमय हुन्थ्यो। तर, कोरोना कहरले यस वर्षको इस्टर उत्सव खोसिदिएको छ।
राष्ट्रपति ट्रम्प इस्टरदेखि अमेरिका खुला हुने भविष्यवाणी गरिरहेका थिए तर अहिलेको अवस्था हेर्दा त्यस्तो परिस्थिति सिर्जना भएको देखिएको छैन। यद्यपि, उनी कुनै पनि बेला त्यस्तो निर्णय गर्न सक्ने बताइरहेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपतिका दुई डाक्टर ब्रक्स र फाउचीले यो साता कोरोना संक्रमण उच्च संख्यामा पुगेर यो क्रमश: घट्दै जाने बताएका छन्। उनीहरूले यो अप्रिय अवस्था भए पनि सोचेभन्दा कमै रहेको पनि बताएका छन्।
(अमेरिकामा मृतकको संख्या हरेक मिनेट परिवर्तन भैरहेको छ। यो इस्टर्न टाइमअनुसार शनिबार मध्यान्हको हो। हामीले वर्डोमिटरलाई तथ्यांक स्रोत बनाएका छौं । अपडेटका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ। )