हुम्लाको सिमकोट गाउँपालिकाले ११ स्वास्थ्य संस्थालाई आवश्यक सामग्री सहयोग गरेको छ। कोभिड –१९ को संक्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई अत्यावश्यक सामग्री उपलब्ध गराइएको हो।
गाउँपालिका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहराका अनुसार जिल्लामा महामारी नफैलियोस् भनी पूर्वतयारीका लागि गाउँपालिकाले एकएक थान पिपिइसहित वडा नं। २, ३, ७ र ८ का चार बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा चाहिने सौर्यबत्ती, घडी, बाल्टिन र एप्रोनलगायत एकएक थानका दरले वितरण गरेको हो।
'सामग्री पाउनेमा स्याँडा, डाँडाफया, ठेहे, बरगाउँलगायतका स्वास्थ्य संस्था छन्', उनले भने, 'यस्तै गाउँपालिकाअन्तर्गतका ती स्वास्थ्य संस्थालाई पिपिई एक–एक, मास्क ५०, डिजिटल थर्मोमिटर दुई, पञ्जा १००, सेनिटाइजर दुई र भाइरेस्क पाँच वटाका दरले वितरण गरिएको छ।'
गाउँपालिकामा चार बर्थिङ सेन्टर छन्। सबै स्वास्थ्य संस्थामा औषधि र उपकरणको कमी हुन नदिइने र बिरामीको भरसक छिट्टै उद्धार गरिने गाउँपालिका अध्यक्ष पदमबहादुर लामाको भनाइ छ। 'डाँडाफया, स्याँडा र ठेहेका स्वास्थ्यचौकीमा यसअघि एकएक थान पिपिइ पठाइसकिएको छ' उनले भने।