क्वारेन्टाइन डायरी

सुनिल राई

बाल्टिमोर मेरिल्याण्ड

‘सबै कुरा अस्थाई हो, धेरै चिन्ता नगर-बुद्ध’

आज तेस्रो हप्ता हुँदैछ। पुरा विश्व कोभिड-१९ को महामारीले ग्रस्त छ। हामी आफ्नै घरभित्र छौं।

यद्यपी विज्ञानको प्रगति वा भनौं इन्टरनेट क्रान्ति पछिको दिनमा आफ्नै घरका कोठा नै सम्पूर्ण विश्व भएको छ। प्रत्येक दिन कहाँ के हुँदैछ र कतिको संख्यामा कोभिड-१९ ले विनास गरिरहेको छ शूक्ष्म रुपमा नियालिरहेका छौं।

सामाजिक सञ्जालमा देखिएको हाम्रो मानसिकता अचम्मको छ। कोही कोभिड-१९ सँग हारेको स्वीकार गर्छन्, कोही मानवता खोज्दैछन्, कोही यहीँ मौकामा कालो बजारी र भ्रष्टाचार गरि धन आर्जन गर्ने दाउमा छन्। बहुमत कोरा काल्पनिकता र भ्रमित मानसिकताबाट लेख्ने अनि बोल्ने गर्छन्। फगत राष्ट्रवाद र विद्धता त हाम्रो पहिचान  भइहाल्यो।

कोभिड-१९ हाम्रो समयको ठूलो महामारी हुनसक्छ। तर मानव जीवन यहीँ सकिँदैन। कोभिड-१९ ले इतिहासको शिक्षा कति जरूरी छ भन्ने कुरा प्रष्ट्याएको छ। हामीले के भुल्नु हुँदैन भने हामीभन्दा अगाडि पनि सभ्यताहरु थिए। केही इतिहासकार तथा पुरातत्वविद् वर्तमान हाम्रो सभ्यता भन्दा पुरानो सभ्यताहरू अझ विकसित र अगाडि रहेको स्वीकार गर्छन्।

उक्त सभ्यताको पद चिन्हहरू अहिले हाम्रो खोज र अध्यनको विषय बनेको छ। इजिप्टको पिरामिड, फ्रान्सको गुफामा रहेको मानव हातको छाप, पेरूको नजका लाईन, ईष्ट आइल्याण्डको भीमकाय मानव मूर्तिहरू, पाकिस्तानको मोहनजोदाडोमा भेटिएको शहरको अवशेष सबैले हामीभन्दा पहिले पनि मानव जीवन पूर्ण विकसित अवस्थामा रहेको निश्चित गर्छन्। आज ती सभ्यताहरु हाम्रो सामू छैनन्। छन् त केबल अवशेषहरु मात्र।

प्रश्न उठ्छ - आखिर कहाँ गए ती सबै? ती सब लोप हुनुको कारण इतिहासको अध्ययनले प्रष्ट देखाउँछ। लेखक तथा प्रस्तोता रोबर्ट लम्ब लेख्छन्स्-धेरै कारणहरू मध्ये मुख्यतया यी निम्न प्रमुख कारणहरु छन्। 

१ जन-संहार

२ महामारी

३ भौगोलिक उथलपुथल आदि कारणहरू रहेका छन्।

यद्यपी यस कुरामा मतभेद छन्। तर हामीभन्दा पहिला पनि मानव सभ्यता थिए भन्ने कुरामा कसैको दुईमत छैन।

इतिहास हामीलाई बताउँदै छ, हाम्रो सभ्यता पनि यस्तै कुनै कारणले विनाश हुनसक्छ भनेर। यही कुराको ज्ञान नहुँदा हामी जे पायो त्यही लेख्ने र बोल्ने गर्छौं।

हाम्रो आफ्नै चरित्र र प्रवृति छ। हामी विकासको चरम उत्कर्षमा पुग्न चाहन्छौँ जसको लागि प्राकृतिक नियमको उलंघन् गर्न पुग्छौं। युद्वको बारेमा कसैलाई बताउनु परेन। इन्टरनेट क्रान्तिपछि सामाजिक सन्जालको प्रयोगले निन्द्रामा परेको असरको कारण, कालान्तरमा हामी कस्तो हुनेछौँ?

महान चिन्तक तथा सैद्धान्तिक भौतिक वैज्ञानिक स्टेफेन हकिङ्गसले अबको १०० वर्षमा हामीले अन्य ग्रहमा आफ्नो वासस्थान खोज्नुपर्ने भबिष्यवाणी गरेका थिए।

उनका अनुसार मौसम परिवर्तन, क्षूद्र ग्रह ठोकिने, महामारी तथा अत्याधिक जनसङ्या वृद्धिसँगै हाम्रो ग्रह बस्नयोग्य हुनेछैन।

उनले भनेका सम्भावनामध्ये हामी मानवजातिको आफ्नै व्यवहार बढी कारक हुनेछ विनासको। हामी जसरी विकास र विज्ञानको नाममा आफैं विरूद्ध र यस धर्तिमा उपस्थित अन्य जिवजन्तुमाथि गर्ने ब्यवहारनै कालान्तरमा हाम्रो विनासको मुख्य कारण हुनेछ। र यो श्वभाविक प्रक्रिया हो किनभने, हामी देव र दानव मिलेर बनेको छौं।

ईर्श्या, घमण्ड, युद्व, क्रोध, लोभजस्ता कुराले हामीलाई निरन्तर डोहोर्‍याईरहेको हुन्छ। हाम्रो सभ्यताको पछिल्ला युद्वहरू यसैका परिणाम हुन्।

हो, हामी अगाडिको मानव सभ्यताहरू पनि यस्तै कारणको सिकार भएको हुनुपर्छ।

के हामी र हाम्रो सभ्यता कहिल्यै नष्ट हुँदैन? के हामी विज्ञान र प्रविधिको विकासको कारण सबै कुरामाथि विजय हासिल गर्न सक्छौं? के हामी अन्त्यको नजिक छौँ? यस्ता धेरै सवालमा जेलिएका छन्, अहिलेको हाम्रो क्वारेन्टाइन जीवन।

हो, यो कोभिड-१९ हाम्रो समयको सबैभन्दा ठूलो महामारी हुनसक्छ। तर प्रार्थना गरौं यसको अन्त्य छिट्टै होस्। विज्ञान र प्रविधिको सहयोगले हिजोको महामारी विरूद्ध हामीले जितेका प्रष्ट प्रमाण छन्। विगतलाई नियाल्दा धेरै महामारि देख्न सक्छौं। प्लेग, सार्स, इबोला, एड्स, जुका, फ्लू र अहिले कोभिड-१९ देखापरेका छन्।

कोभिड-१९ महामारीको यस घडीमा समेत जनमत दुई खेमामा बाढिएको छ। धेरै जसो मान्छे विकसित देशलाई यस महामारिको दोष दिन्छन्। हामीले भुल्नु हुँदैन, हाम्रो स्वभाव र प्रवृत्ति नै यस्तै हो। हामीलाई सबैकुरा चाहिएको छ। नत्र सबै बुद्ध नभए कम्तिमा गान्धी बन्थे।

कोभिड-१९ महामारी हो, सायद धेरै जनधनको क्षति हुनेछ यद्मपि यो हाम्रो सभ्यताको विनासको कारण हुनेछैन। इतिहास नभुलौं, विगतमा पनि यस्ता महामारीले मानव समुदायलाई तहसनहस नगरेको होइन। इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न सकिन्छ। जुन वर्तमान अवस्थालाई उपयोगी हुनेछ।

सन् १९१८ को स्पेनिस फ्लूले झण्डै पाँच करोडको जीवन लिएको थियो। कोभिड-१९ ले पनि धेरै संख्यामा मानव जीवन लिनसक्छ। तर, अहिले समय बद्लिएको छ। आशा गरौं छिट्टै केही नयाँ आविष्कारहरू हुनेछन् जसले यस महामारीलाई रोक्नेछ।

हो अहिले नै हाम्रो अन्त्य भने हुनेछैन। तर याद राखौँ- विज्ञान र प्रविधिको जतिसुकै कुरा गरे पनि हामी मानव जातिको आफ्नै चरित्र र प्रवृति काफी हुनेछ। हाम्रो विनासको लागि साथै प्राकृतिक प्रकोप, महामारी त छँदै छ।

यद्मपि जतिवेलासम्म सकिन्छ, लडिन्छ। र हुनसक्ने सबै कुराको लागि तयार बसिन्छ। यो जीवन भन्दा राम्रो अरू के पो छ र! जीवन जस्तोसुकै अवस्थामा सुन्दर छ। आखिर हामी कसलाई पो थाहा छ र यो जीवनमा बाँकी कति समय छ भनेर।

सुनिल राई,

हाल बाल्टिमोर मेरिल्याण्ड, अमेरिका।

   

प्रकाशित मिति: : 2020-04-11 18:53:24

प्रतिकृया दिनुहोस्