अमेरिकामा मात्र हैन, घरदेश नेपाल र बाँकि परदेशका नेपालीमाझ अहिले एउटा भिडियो भाइरल छ। भिडियो बनाउने व्यक्तिको पहिचान पवन चापागाईंका रूपमा भएको छ। उनी विगत २२ महिनादेखि अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स एन्नाडेलस्थित पुस्कर पन्तको घरमा भाडामा बस्दै आएको भनिएको छ। उनी स्थानीय एक सेभेन इलावेन स्टोरमा कार्यरत् रहेको पनि उनकै घरवेटी पुष्कर पन्तले खुलासा गरेका छन्।
उनको भिडियोमा 'आफू कोरोना प्रभावित भएको, घरबेटीले निकालिदिएको, खानै नपाएको, यहाँका नेपाली सहयोगी नभएको' लगायतका धेरै कुरा छन्। र, अहिले अमेरिकाको नेपाली सञ्चारकर्म, सामाजिक अभियन्तालगायत अधिकांश नेपाली उनको खण्डनमा उत्रिएका छन्। खण्डनकर्ताहरूको दावी छ, 'उनले भनेका सबै कुरा गलत हुन्। र, उनी डिप्रेसनमा छन्।' अभियन्ताहरूले उनले नेपालीको इज्जत नराखिदिएकोमा चिन्ता पनि व्यक्त गरे। केहीले त जहाँ भेटिन्छ, त्यही समातेर प्रहरीको जिम्मा लगाउने कुरा पनि गरे। केहीले मानसिक अस्पताल पुर्याउनुपर्छ भने।अर्थात्, अहिले उनलाई एब्नर्मल सावित गर्ने प्रयास जारी छ।
अमेरिकी सरकारको सौजन्यमा गरिएको एक अध्ययनले अमेरिका आएको पहिलो पुस्ताका ७८.३ प्रतिशत आप्रवासी एब्नर्मल छ भनेको छ। भनिन्छ, संघीय सरकारले त्यसैको आधारमा आप्रवसासीलाई हेर्ने दृष्टिकोण र नीति बनाउँछ। यस अर्थमा अमेरिकामा आएका पहिलो पुस्ताका धेरै नेपाली पनि एब्नर्मल नै छौं।
आज अमेरिकाको नेपाली डायस्पोरामा फेसबुकमा जे जस्ता लाइभ गरिन्छन, भिडियो सार्वजनिक हुन्छन्, अपवाद बाहेक ती सबै ऐेजेरू उत्पादन हुन्। पवन चापागाईंको यो फेसबुके भिडियो हर्कत पनि त्यसैको एक कमजोर कडी हो । यही क्रम रहने हो भने अमेरिकाको नेपाली समुदायमा लुगा सबै फुकालेर फेसबुक लाइभमा 'यही हो अमेरिका' भन्ने धेरै एब्नर्मल प्रस्तुति देख्नुपर्ने दिन टाढा छैनन्।
पवन चापागाईं त्यही भित्र परे होलान्। तर, म त्यही भिडियो हेरेको आधारमा यो निर्णयमा पुगी हाल्न सक्दिन। किनकि, महान दार्शनिक एरिस्टोटलले भनेका छन्, 'सत्य वहुआयामिक हुन्छ। यो जे हो त्यो भन्दा पनि मानिसले त्यसलाई कसरी ग्रहण गर्छ, त्यसमा भर पर्छ।'
यसमा पनि म सेकेण्ड ओपनियन राख्न चाहन्छु। जस्तो कि, हिजो आज फेसबुकमा अनेक अभिनय र क्यारिकेचर गरेर भिडियो सेयर गर्ने चलन छ। हुन सक्छ, पवनले पनि त्यही अभ्यास गरेका हुन्। चिनिएका कलाकारले गरेको भए आममानिसलाई त्यस्तो पनि लाग्न सक्थ्यो तर उनी त्यो नभएकाले शंकाको सुविधाबाट बञ्चित भएका पनि हुन सक्छन्।
ल ठीकै छ, त्यसो पनि हैन अरे। उनले त्यो जानी बुझिकन गरेकै हो भने पनि त्यसमा पनि म उनको ठूलो अपराध देख्दिन। सबैलाई एउटै ड्याङको मुला भन्न नसकिएला तर उनले भेटेका नेपाली त्यस्ता नहोलान् भन्न सकिन्न। चुनिएको सत्य जसलाई पत्रकारितामा सेलेक्टिव रियालिटी भनिन्छ, त्यस्तो पनि त हुन सक्छ।
फेरि, आज अमेरिकाको नेपाली समुदायमा फेसबुकमा जे जस्ता लाइभ गरिएका छन, भिडियो सार्वजनिक गरिएका छन्, अपवाद बाहेक ती सबै कुन मास्टर पिस छन् र ? सिटिजन जर्नालिज्मको मानमर्दन गर्दै धेरैले सबै खालका हर्कत गरेकै छन्। कुनै समय बाथरूम सिंगरको जमाना थियो, आज फेसबुक सिंगरको जमाना आएको छ। कालजयी गीतहरू व्यक्तिगत डोमेनमा गुनगुनाउन सकिन्छ तर अहिले त फेसबुक डोमेनमै वाचपार्टी बनाइन्छ। यसबाट कसैको रहर पुग्ला, कसैले लाइक र प्रशंसा पनि पाउँला। तर, के त्यसबाट ओरिजिनल श्रष्टामाथि न्याय हुन्छ त ? त्यसो गर्दा त्यो श्रष्टाका सच्चा अनुयायीको मन दुख्छ कि दुख्दैन ? तर, त्यतातिर त कसैले हेक्का राखेजस्तो लाग्दैन मलाई।
मेरो विचारमा पवनलाई यो रूपमा ल्याउने अरू कोही नभएर अमेरिकामा जे पायो त्यही फेसबुक लाइभ गर्ने वाच पार्टीवाला हुन्। उनी पनि फेसबुके वाच पार्टीवालाको ठेक्पा 'सिटिजन जर्नालिज्म'वाला बाट प्रभावित भएका हुन्। विषयवस्तु, मनस्थिति, ल्याकत जस्तो थियो, त्यही आधारमा उनी पनि छचल्किए।
तर, मलाई लाग्छ अमेरिकाको नेपाली डायस्पोराका सिटिजन जर्नालिज्म'वाला धेरैलाई यो कुरा पाच्य हुदैन। किनकि, हामी नेपाली डबल स्टाण्डर्डमा माहिर छौं। त्यसको उदाहरण लिन टाढा जानै पर्दैन, आफ्नालाई डीभी परे 'भाग्यमानी' भन्छौं, अरूलाई परे 'चिट्ठे' भन्छौं। आफ्ना मान्छेले अमेरिकी नागरिकता लुकाएर नेपाली हुँदा राष्ट्रप्रेमी भन्छौं, अरूले त्यसो गरे पलायनवादी, राष्ट्रघाती भन्छौं ।
पवन चापागाईंलाई गाली गरेर मात्र यो समस्याको समाधान हुदैन। समस्या भनेकै यो फेसबुके वाचपार्टी सञ्चारकर्म र त्यसलाई प्रश्रय दिने हाम्रो नेपाली चिन्तन हो। त्यो चिन्तनबाट जति छिटो हामी माथि उठ्न सक्छौं, त्यति छिटै हामीले पवन चापागाईं थप्ने खेतीपाती पनि बन्द गरिसकेका हुनेछौं।
प्राध्यापक डी पी भण्डारी भन्नुहुन्थ्यो, 'ए परदिपे, तलाइँ थाहा छ नेपालीले आफूले गरे कृष्णलीला भन्छन्, अरूले गरे रासलीला। गर्ने त एउटै कुरा हो। यो कुरा बु्झिस् भने तैले गरिखान्छन्, हैन भने सकिन्छस्।' उहाँले भनेको कुराको अर्थ ढिलो गरेर अहिले बुझ्दैछु ।
यो सत्यलाई बुझेर आफू जे हो त्यही गरौं, जे गर्दा गर्व लाग्छ र यो जीवन सार्थक हुन्छ भन्ने लाग्छ त्यही गरौं। जन्मदै जानेर कोही आएको हुदैन। सबैले पढेर र परेर नै गर्ने हो। सञ्चारकर्म र पत्रकारिता त पढेर नै गर्नुपर्छ किनकि यो पलपलमा अपडेट र अपग्रेड भैरहने सोसल साइन्स हो। यो क्यायकहरूको प्रयोगशाला हैन। अमेरिकाको नेपाली समुदाय यही क्वायक पत्रकारिता र सञचारकर्मका कारण यो अवस्थामा पुगेको हो।
यदि हामीले यो सत्य स्वीकार नगर्ने हो र फेसबुक लाइभमा क्वायक प्रयोग बढाउने हो भने एकदिन अमेरिकाको नेपाली समाजमा शरीरका सबै लुगा फुकालेर 'यही हो अमेरिका' भन्ने फेसबुक लाइभ नआउला भन्न सकिन्न। पवन चापागाईं त्यही बाटोमा हिडेका एक प्रतिनिधि पात्र मात्र हुन् ।
यसै पनि अमेरिका भनेजस्तो सजिलो छैन। ७८ प्रतिशतभन्दा माथि नै पहिलो पुस्ताको आप्रपासी एब्नर्मल हुने देशमा जो कोही पनि कुनै पनि बेला एब्नर्मल हुन सक्छौं।
पवन चापागाईंलाई गाली गरेर मात्र यो समस्याको समाधान हुदैन। समस्या भनेकै यो फेसबुके वाचपार्टी सञ्चारकर्म र त्यसलाई प्रश्रय दिने हाम्रो नेपाली चिन्तन हो। त्यो चिन्तनबाट जति छिटो हामी माथि उठ्न सक्छौं, त्यति छिटै हामीले पवन चापागाईं थप्ने खेतीपाती पनि बन्द गरिसकेका हुनेछौं।
आगे यहाँहरूकै मर्जी ।