भारतले नेपालसहित १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन र सिटामोल दिने

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले नेपालसहित १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि दिने निर्णय गरेको छ।

भारतीय विदेश मन्त्रालयका एक अधिकारी दम्मु रविले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतले नेपाल, भुटान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, अमेरिका, स्पेन, जर्मनी, ब्राजिल, बहराइनलगायतका देशलाई यी औषधि उपलब्ध गराउने छ।

कोरोनाको महामारीसँगै विश्वभर यी दुई औषधिको माग उच्च छ। भारत हाइड्रोक्सीक्लोरोक्विन औषधि धरै उत्पादन गर्ने देश हो। मलेरियाका लागि उपयुक्त हुने भनिने हाइड्रोक्सीक्लोरोक्विन औषधि उपलब्ध गराइदिन यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका थिए।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबारै औषधिलगायतका अत्यावश्यक सामान आयात–निर्यातका विषयमा टेलिफोन वार्ता भएको थियो।

नेपाल सरकारको तर्फबाट ओलीले भारतलाई आवश्यक मेडिकल सामग्रीहरु निरन्तर पठाएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए। उनीहरुले एकअर्को मुलुकले गरिरहेको आवश्यक सामग्रीको आपूर्तिमा सन्तोष व्यक्त गर्दै यो क्रम आगामी दिनमा पनि जारी राख्नुपर्नेमा जोड दिएका थिए।
 

प्रकाशित मिति: : 2020-04-11 08:58:40

प्रतिकृया दिनुहोस्