कोरोनामा अमेरिकाका दुई नयाँ दुखान्त रेकर्ड : संक्रमित पाँच लाख, एकै दिन दुई हजार मृतक

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

विश्वको  महाशक्ति राष्ट्र अमेरिकाले शुक्रबार कोरोना संक्रमणमा अरू दुई नयाँ दुखान्त रेकर्ड बनाएको छ। पहिलो कीर्तिमान अमेरिकामा कोरोना संक्रमितको संख्या पाँचलाख नाघेको छ। पाँचलाखे क्लवमा प्रवेश गर्ने अमेरिका एक्लो राष्ट्र हो। उसलाई पछ्याइरहेका अरू राष्ट्र अझै पनि दुईलाखे क्लवमा प्रवेश गरेकै छैनन्। 

यसैगरी शुक्रबार एकैदिन दुईहजारभन्दा बढी मानिस कोरोना संक्रमणबाट मरेका छन्। एकैदिन यति धेरै संख्यामा कोरोनाबाट मृत्यु भएको पनि यो पहिलो पटक हो ।

यो समाचार लेखिरहेको बेला पूर्वीसमयअनुसार शुक्रबार साँझ ८ बजेसम्म अमरिकामा कोभिड-१९ बाट मर्नेको संख्या १८,७१९ पुगेको छ। यसमा शुक्रबार एकै दिन मृत्यु भएका २,०३७ पनि जोडिएको छ। 

यसैगरी शुक्रबार ३३,४८३ नयाँ संक्रमित थपिएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या बढेर पाँचलाख दुईहजार उनन्पचास पुगेको छ। 

कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको अमेरिकाले शु्क्रबार दुई नयाँ विश्व कीर्तिमान बनाएको छ। पहिलो कीर्तिमान कोरोना संक्रमितको संख्यामा र दोस्रो कीर्तिमान एकैदिन सबैभन्दा धेरै मर्नेको संख्यामा बनेका हुन्। शुक्रबार अमेरिकामा कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ भने एकैदिन मर्नेको संख्या पनि दुई हजार उक्लिएको छ। 

अब कोरोना कहरको एक मात्र कीर्तिमान अमेरिकासँग छैन। त्यो हो , सबैभन्दा बढी मृतक भएको देश। अझै पनि १८ हजार आठसय ४९ मृतकसहित पहिलो स्थानमा छ। त्यो कीर्तिमान पनि शनिबार अमेरिकाको पक्षमा आउँने निश्चित छ। त्यो कीर्तिमान पछि कोरोना कहरमा अमेरिकाको एक छत्र हुनेछ। 

अमेरिकामा कोरोना कहरको इपिसेन्टर मानिएको न्युयोर्कमा शुक्रबार झिनो सुधार देखिएको छ। बिहिबार यहाँ ७९९ को मृत्यु भएको शुक्रबार त्यो संख्या घटेर ७७७ मा झरेको छ। यसैगरी संक्रमितको संख्यामा पनि केही सुधार आएको छ। 

अमेरिकाका कोरोनासँग सम्बन्धित कुनै पनि तथ्यांक प्रिय छैनन्। सम्भवत: भोलि शनिबार मृतकको संख्यामा पनि इटलीलाई जितेपछि अमेरिका कोरोनासँग सम्बन्धित सबै तथ्यांकमा विश्व रोल नम्बर १ हुने निश्चित छ। यद्यपि, राष्ट्रपति ट्रम्प मृतकको संख्या एकलाख भन्दा कममै रोक्न सकिने सम्भावना बढ्यो भन्दै फेन्टास्टिक भन्न छोडेका छैनन्।

प्रकाशित मिति: : 2020-04-11 05:58:09

प्रतिकृया दिनुहोस्