संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणले निधन भएका ११ जना नेपालीको शव अलपत्र परेको छ।
चीनबाट सुरू भएको कोरोना भाईरस (कोभिड-१९) ले विश्वव्यापी महामारी लिएपछि नेपालसहित विभिन्न मुलुकहरूले लकडाउन गर्दै अन्तर्राष्ट्रिय उडान रोकेपछि उक्त शवहरु युएईकै अस्पतालमा अलपत्र अवस्थामा रहेका हुन्।
युएईस्थित नेपाली दुतावास स्रोतका अनुसार लकडाउनले गर्दा बिभिन्न कारणले मृत्यु भएका ११ जना नेपालीको शव युएईका अस्पतालमा अलपत्र परेको हुन्।
हवाई यातायात अबरूद्ध भएको कारण शवहरू नेपाल पठाउन नसकिएको नेपाली राजदूतावास आवुधावी (युएई) जानकारी दिएको छ।
यद्यपी युएई सरकारले जतिसक्दो छिटो ती शबहरु नेपाल लैजान वा यहीँ अन्त्येष्टि गर्न दबाब दिईरहेको छ।
एक जना परिवारले युएईमै अन्त्येष्टि गर्न अनुमति दिएको श्रम सहचारी मोतिराम भूषालले जानकारी दिए। यद्यपी उनले युएईमै शव अन्त्येष्टि गर्ने अनुमति पाएका ब्यक्तिको बारेमा भने जानकारी दिएनन्।
नयाँ वर्षको बिदा मनाउन चीनको वुहानबाट युएई आएका एक चिनियाँ परिवारबाट शुरु भएको कोरोना भाईरसबाट युएईमा अहिलेसम्म ११ नेपालीसहित २९९० जना संक्रमित भइसकेका छन्। जसमध्ये १४ जनाको ज्यान गइसकेको छ।
४ महिला सहित ११ जना नेपाली मध्ये २ जना उपचारपछि संक्रमण मुक्त बनिसकेको र बाँकीको सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेको दूतावासले जानकारी दिएको छ।
युएई सरकारले गत मार्च २५ देखि सबै अन्तर्राष्ट्रिय उडान रोक्नुका साथै देशभर कडाइ गरेको छ।
नेपाली राजदुतावास युएईको तथ्यांकअनुसार यहाँ २ लाख ७५ हजार नेपाली बसोबास गर्छन्। ती मध्ये अधिकांश निर्माण, सेवा, सुरक्षा एवं तथा घरेलु कामदारको क्षेत्रमा कार्यरत छन्।
पारिवारिक भेटघाट एवं घुम्नका लागि युएई आएकाहरुको घर फिर्ती अनिश्चित बनेको छ। कैयन कम्पनीहरुले बेतलबी बिदा दिएर आफ्ना कामदार क्याम्पमै राखेका छन्। यसको असर नेपालीमा समेत परेको छ।
युएईमा रेस्टुरेन्ट, ट्राभल, रोष्टरी लगायतका व्यवसाय गर्दै आएका २ सय भन्दा धेरै नेपाली व्यवसायीहरु छन्। अहिले यी सबैको कारोबार बन्द भएको छ।