काठमाडौँको तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण शुरु भएको छ। कोभिड – १९ को जोखिम रोक्नका लागि सरकारले गरेको घोषणा लकडाउनका कारण नगरपालिकाले दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण शुरु गरेको हो।
नगरपालिकाका प्रवक्ता विदुर सापकोटाका अनुसार हाल समस्यामा परेका विपन्न, गरीब र अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वितरण गरिएको छ।
'बुधबारदेखि शुरु भएको राहत नगरपालिकाका सात हजार ११ परिवारले पाउने छन्', उनले भने, नगरपालिकाभित्र डेरा गरिबसेका र ज्यालामजदूरी गर्नेलाई प्राथमिकतामा राखेर राहत वितरण गरेका छौं।'
नगरपालिकाले तीनभन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पोका नून, दुई लिटर खाने तेल, एक केजी चिनी र दुई साबुन प्रदान गरेको उनको भनाइ छ।
त्यस्तै तीनभन्दा कम सदस्य भएका परिवारलाई त्यसको आधा वितरण गरिएको उनले बताए। नगरपालिकाले विदेशबाट आएका चार सय एक जनाको तथ्याङ्क सङ्कलन गरेको छ। 'ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ' नगरपालिकाका प्रवक्ता सापकोटाले भने।