नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि नेपालमा रहेका विदेशीले बिमान चार्टर गर्दै आफ्नो देश फर्कन थालेका छन्।
नेपालमा रहेका आफ्ना नागरिकलाई सम्वन्धीत देशका दूतावासले सहकार्य गर्दै स्वदेश फर्काउँदै आएका छन्।
बुधबार मात्र कतार एअरलाईन्स र बेलायतबाटै आएको टाइटनीक एअरलाईन्सकोे बिमानले ५ सय ३८ जनालाई स्वदेश फर्काएको छ।
कतार एअरलाईन्सबाट २ सय ८६ जना जर्मनी नागरिक र बेलायतबाटै आएको टाइटनीक एअरलाईनसको बिमानले २ सय ५२ जना बेलायती नागरिकलाई लिएर उडेको छ।
सरकारले वैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्द लगाएपछि नेपालमा रहेका पर्यटकहरु आफ्नो देश फर्कन लागेका हुन्।
लकडाउनको अवधिमा करीब दुई दर्जन अन्तरराष्ट्रिय उडान भएका छन् । चैत १० देखि बुधवार २६ गतेसम्म विभिन्न अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले २१ वटा अन्तर्राष्ट्रिय उडान गरेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले लकडाउनको अवधिमा २१ ओटा अन्तरर्राष्ट्रिय उडानबाट ३ हजारभन्दा बढी विदेशी स्वदेश फर्किएको जानकारी दिए ।
यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को चार तथा कोरियन, मलेशिया, मालिन्दो, इत्तिहाद, चेक रिपब्लिकन र टिटान एयरवेजको समान एक–एक उडान भएका छन् ।
यसबीचमा विशेषगरी यूरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजिल्याण्डलगायतका तथा मलेशिया, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् ।
नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौं ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० ओटा वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । आन्तरिकतर्फ पनि लकडाउन शुरु भएदेखि नै सबै उडान बन्द छ । करीब १० दिन दैनिकजसो आन्तरिकमा उद्धार र कार्गो उडान भए । आन्तरिकमा १० हेलिकप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान गर्छन् ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा कोभिडको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । पछिल्लो पटक वैशाख ३ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।
लकडाउनको अवस्थामा सरकारले चैत ९ गतेदेखि नेपालमा उडान गर्ने सबै अन्तरराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो ।