महामारीको मौका छोपेर कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाललाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ। शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालकसमेत रहेका अग्रवालमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार म्याद थप गरेको हो।
ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) कालोबजारी गरेर बिक्री गरेको आरोपमा मंगलबार दिउँसो उनी पक्राउ परेका थिए।
अग्रवालले चीनको गोन्जाउबाट २१ गते थर्मल गन ल्याएका थिए। अग्रवालको कम्पनीले चीनबाट सेटिङमा आफ्नो मात्रै सामान ल्याएको थियो। सेटिङमा आफ्नो कम्पनीको मात्रै मेडिकल उपकरण तथा औषधि ल्याउँदै सामान कालोबजारीमा बिक्री गरिरहेको थियो।
शंकर ग्रुपले कालोबजारीमा सामान बिक्री गर्नकै लागि अन्य व्यवसायीको सामान नेपाल एयरलाइन्सको चार्टर उडानबाट ल्याउन दिएको थिएन। तर, अग्रवाल मंगलबार कालोबजारीमा सामान बिक्री गर्ने क्रममै पक्राउ परे।
उनलाई प्रहरी आफैँ ग्राहक बनेर महँगोमा थर्मल गन किन्ने बहाना बनाउँदै समाातेको हो। उनका साथबाट प्रहरीले ६७ थान थर्मल गन समेत फेला पारेको छ। प्रहरीले त्यसपछि अग्रवालको घर र अफिसमा समेत छापा मारेको थियो। तर, बाँकी थर्मल गन फेला पार्न सकेन।
अग्रवालले २१ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा १२ सय थर्मल गन ल्याएका थिए। अग्रवालको कम्पनीले उक्त गन चीनमा २० डलरमा खरिद गरेका थिए।
उनले सामान खरिद गरको समयमा डलरको भाउ १ सय २१ रुपैयाँ थियो। साही दरमा उक्त थर्मल गन खरिदमा अग्रवालको कम्पनीले २ हजार ४ सय २० रुपैयाँमा खरिद गरेको देखिएको छ। साढे २४ सयको सोही थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्ने क्रममा प्रहरीको स्टिङमा परी अग्रवाल पक्राउ परेका हुन्।