कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ।
मंगलवार चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य देखिएपछि प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो। लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुन: सञ्चालनमा आएका छन्।
स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्।
कोरोनाको संक्रमणरोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए। १ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार-व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो।
गत महिना वुहानमा एक साताभर कोरोनाका नयाँ संक्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो। संक्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो।
बुधवारबाट स्वीकृति पाएका मानिसहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउँछन् तर त्यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्न दिनुपर्छ। त्यस्तो कोड प्रत्येक मानिसका लागि फरक हुन्छ र त्यो उनीहरूको स्वास्थ्यस्थितिसँग सम्बन्धित हुन्छ।