जन्मेको अर्को दिन नै कोरोनाका कारण शिशुको निधन

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकामा जन्मिएको एक दिनभित्रै नवजात शिशुको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। लुजियाना राज्यकाे इस्ट बाटोन रुज पारिस अस्पतालमा नवजात शिशुले सोमबार मृत्युवरण गरेको अस्पताल प्रशासनले जानकारी दियो। निधन हुने शिशुको जन्म ७ महिनामा भएको थियो। 

अस्पताल प्रशासनका अधिकारी विलियम क्लार्कले आमालाई पहिले नै कोभिड–१९ को संक्रमणले भेटेकाे जानकारी दिँदै नवजात शिशुमा अक्सिजनको मात्रा कमि पाइएको बताए। उनका अनुसार कोरोना संक्रमित बिरामीमा पनि अक्सिजनको मात्रामा कमि आउने गर्दछ। 

एउटा स्वास्थ्य बच्चा जन्मिन ९ महिना लाग्ने गर्दछ। तर, निधन भएकी शिशु धेरै अगाडि जन्मिएको र उनको शरीरले अक्सिजनको कमि भएको अनुभव गरिरहेको चिकित्सकले बताएका छन्। ‘आमाको शरीरभित्र पनि अक्सिजन बनिरहेको थिएन। जसले गर्दा बच्चाका लागि राम्रो वातावरण बनेन। त्यसैको उपज आमाको शरीरले तोकिएको समयअगाडि नै पेटमा भएको बच्चालाई धकेलिरहेको थियो,’ क्लार्कले स्पष्ट पारे। 

हाल आमालाई थप उपचारका लागि अलग्यै राखिएको छ भने उनलाई छोरीको विषयमा कुनै जानकारी दिइएको छैन।

लुजियाना स्वास्थ्य विभागका अनुसार लुजियानाको राजधानी मानिने बाटोन रुजमा सोमबारसम्म कोरोना भाइरसका ८ सय १६ संक्रमित भेटिएका छन्, जसमा २५ को निधन भइसकेको छ। पुरै लुजियाना राज्यमा भने कोरोना भाइरसको १४ हजार ८ सय ६७ संक्रमित भेटिएका छन्, जसमा ५ सय १२ को निधन भइसकेको छ। सोमबार मात्र यहाँ १८ सय नयाँ संक्रमित अस्पताल भर्ना भएका थिए। हाल ५ सय ६१ जना भेन्टिलेटरमा रहेको बताइएको छ। 
 

प्रकाशित मिति: : 2020-04-07 06:53:05

प्रतिकृया दिनुहोस्