कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छ : मन्त्री ढकाल

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसविरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् ।

सोमबार वसन्त चौधरी फाउन्डेसनले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले निजी क्षेत्रको सहयोग आवश्यक भएको बताएका हुन्।

‘कोरोना महामारीविरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ,’ उनले भने, ‘हामी सबै यस अभियानमा जुट्नुपर्छ ।’ रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।

कोरोनाविरुद्धको अभियानको दायरा फराकिलो बनाएको जानकारी पनि मन्त्री ढकालले उक्त अवसरमा दिए ।

विदेशमा नगएका व्यक्तिसमेत कैलालीमा संक्रमित बनेकाले कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो ।

फाउन्डेसनले थ्री एम एन९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो । नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो ।

फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ । 

सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै रु ५० लाख उपलब्ध गराइसकेको छ । 

प्रकाशित मिति: : 2020-04-06 12:37:38

प्रतिकृया दिनुहोस्