हामी कोरोना महामारीविरुद्धको युद्धमा जित हासिल गर्छाैं: बेलायती महारानी

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायती महारानी एलिजाबेथ द्वितियले  कोरोना भाइरस महामारीविरुद्धको युद्धमा जित हाँसिल गर्ने बताएकी छन् ।

कोरोना भाइरसको संकटमा जुधिरहेकाहरुप्रति ऐक्यबद्धता जनाउन महारानी एलिजाबेथले आइतबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन्।

उनले सरकारले लागु गरेका नियमहरु पालना गरेकोमा नागरिकलाई धन्यबाद दिएकी छन् । उनले कोरोनाको संक्रमण फैलिन नदिनका लागि घरमै बस्न सबै पुनः आग्रह गरेकी छिन्।

एलिजाबेथले कोरोना भाइरसका कारण आफ्ना–आफन्त तथा प्रियजनसँग पर बस्नुको पीडा पनि रहेको बताएकी छन् ।

अहिले कायम भएको सामाजिक दूरीले आफूलाई दोस्रो विश्वयुद्धका बेला बालबालिकाहरु परिवारबाट अलग राखिएको कुरा स्मरण गराएको उनले बताएकी छन् । तर अहिले सामाजिक दूरी कायम गर्नु र त्यो बेला बालबालिकालाई पर राख्नु समय अनुसार अत्यावश्यक रहेको बताएकी छन् ।

यस्तै अरुको सहयोगका लागि फ्रन्टलाइनमा आएकाहरुको प्रशंसा महारानीले सन्देशमा गरेकी छन् ।

महारानी एलिजाबेथले आफ्नो सन्देशमा कोरोना संक्रमणविरुद्ध काम गरिरहेकाहरुको प्रशंसा गर्दै हरेक पटक गरिने कामले सबैलाई सामान्य समय तिर फर्काउन सहयोग गर्ने बताएकी छन्।

विन्डोर कासलबाट सम्बोधन गरेकी महारानीले भनेकी छन्, ‘हामीले यसअघि पनि चुनौतिहरुको सामना गरेका थियौँ, तर अहिलेको चुनौति फरक छ । यो पटक हामी विश्वका सबै देशहरुको सामूहिक प्रयास र वैज्ञानिकहरुको महत्वपूर्ण खोजबाट उपचारको खोजीमा छौँ । हामी सफल हुने छौँ‘र त्यो सफलता हामी सबैको हुने छ ।’

बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण चार हजार ९३४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-04-06 07:51:20

प्रतिकृया दिनुहोस्