इटालीमा काेराेनाबाट मृत्यु हुनेको संख्या दुई हप्तायताकै कम, स्पेन पनि तङरिदै

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा धेरैको ज्यान गएको इटालीमा राहतको महसुस गर्न थालिएको छ।

इटालीमा आइतबार पछिल्लो दुई हप्तायता पहिलोपटक सबैभन्दा कम व्यक्तिको मृत्यु भयो। आइतबार इटालीमा कोरोना संक्रमणका कारण ५२५ जनाको ज्यान गएको इटालीको नागरिक संरक्षण मन्त्रालयले बताएको छ। 

यो पछिल्लो दुई हप्ता यताकै सबैभन्दा कम हो। यस्तै नयाँ संक्रमित हुनेहरु पनि आइतबार कम भएका छन्। आइतबार चार हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो।

इटालीमा अहिलेसम्म कोरोनाका कारण १५ हजार ८८७ जनाको मृत्यु भएको छ। 

अहिले इटालीमा ९१ हजार २४६ जना उपचारका लागि अस्पताल वा डाक्टरको निगरानीमा छन्।

इटालीमा कोरोना मुक्त हुनेको संख्या २१ हजार ८१५ पुगेको छ। आइतबार ८१९ जना संक्रमण मुक्त भएको घोषणा गरिएको हो।

कुल संक्रमतिको संख्या इटालीमा अहिलेसम्म एक लाख २८ हजार ९४८ पुगेको छ। इटाली पछिल्लो चार हप्तादेखि लकडाउनमा छ।

यस्तै स्पेनमा पनि आइतबार अघिल्लो दिनको तुलनामा मृत्यु हुनेको संख्या कम भएको छ।

स्पेनमा आइतबार थप ६९४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या १२ हजार ६४१ पुगेको छ। संक्रमितको संख्या स्पेनमा एक लाख ३१ हजार ६४६ रहेको छ।

विश्वभर संक्रमितको संख्या १२ लाख ७२ हजार नाघेको छ। यस्तै कुल मृत्यु हुनेको संख्या ६९ हजार ४२४ रहेको छ। अहिलेसम्म दुई लाख ६२ हजार २१७ जना निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-04-06 07:15:47

प्रतिकृया दिनुहोस्