मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक 

मनाङमा आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।

उनका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन, इजरायल लगायतका नागरिक छन्। 'माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएका छन्', उनले भने, 'आफ्नो देशमा भन्दा कोभिड–१९को जोखिम  नेपालमा कम भएकाले  ती पर्यटक स्वदेश फर्किन नमानेका हुन्। 

नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन नसकेको बताउदैं उनले भने, 'तिलिचो वेसक्याम्पतिर  कति विदेशी नागरिक रहेका छन् भन्ने कुरा थाहै छैन्।'

'विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताउनुहुन्छ, त्यसैले हामी स्वदेश फर्किदैनौँ, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौँ भन्ने गर्नुहुन्छ,’ उनले भने। सो भाइरसको जोखिम अन्य देशमा भन्दा नेपालमा कम रहेको र यहाँ सङ्क्रमण फैलिनसमेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ। 'हामी नेपालमा सुरक्षित छौँ' उनले भने।

प्रकाशित मिति: : 2020-04-05 16:06:58

प्रतिकृया दिनुहोस्