कोेभिड–१९ को सम्भावित जोखिम फैलिन नदिन सरकारले गरेको घोषणा लकडाउनका कारण यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ।
प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा रहेको थियो।
यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिए।
यो जात्रा वर्षको एकपटक मनाउने गरिन्थ्यो। चैतको एकादशीको दिन बुलुको मुख्य चोकमा भैरवलाई खट बनाई राखेर पूजा गरिन्थ्यो। पूजाआजा सम्पन्न भएपछि गुठीयारले भोज गर्थे। चैत द्वादशीको दिन यी देवतालाई बुलुका श्रेष्ठहरुको आँगनघरमा खटमा राखी पूजा गर्ने चलन रहेको थियो। चैत त्रयोदशीका दिन बुलुगाउँको टोलटोलमा चन्द्रभैरव र गणेशलाई राखी पूजा गरिन्थ्यो। पूजापछि दिउँसो ४ बजेबाट रथजात्रा गर्ने चलन रहेको चापागाउँका स्थानीय ७४ वर्षीय वासुदेव कर्माचार्यले बताए। उनले भने, 'चापागाउँ स्थापना हुनुअघि बुलुगाउँ रहेको थियो। बुलुगाउँलाई शिवपुरी पनि भनिन्थ्यो।
महामञ्जुश्रीले सन्तानेश्वर महादेवको सिमाना, बाडेगाउँबीचको पहाड र चोभारको पहाडलाई तान्त्रिक तरबारले छेड्ने गरी काटेर दहको पानी निकालेको भन्ने किंवदन्ती यहाँ रहेको छ। यस तालको पानी सुक्नुभन्दा पहिले एक स्थानमा नागराजलाई राख्नुपर्छ भन्ने हेतुले नागलाई राखेकाले त्यस स्थानको नाम नागदह भयो। यो धापाखेलमा पर्छ। जब पानी सुक्यो, दक्षिण भेगमा एउटा गाउँ चाहिन्छ भनी यस गाउँको नाम शिवपुर भयो। पानी सुकेपछि यस स्थानमा पशुपति महादेव उत्पत्ति भएको किंवदन्ती पनि छ। बुलुगाउँका पूर्वतिर महादेव रहेका छन्।'
बुलुगाउँमा एक व्यक्तिले बदमासी गरेकाले त्यसको मुख नहेर्ने भनी अरु सबै व्यक्ति छाडेर गएकाले महादेव पनि यहाँबाट पशुपतिमा गएको किंवदन्ती रहेको कर्र्माचार्यले जानकारी दिए। बुलुगाउँबाट महादेव र अरु मानिस उठेर गएपछि सो शिवपुर गाउँ धमिलो भई नराम्रो वातावरणमा परिणत भएर गाउँको शोभा नै हराइ डरलाग्दो भयो। त्यसको धेरै वर्षपछि गाउँमा भएका सबै घरहरु भत्केर एउटा परिवार मात्र बसोबास गरिराखेको थियो। गाउँ नै अँध्यारोमा परिणत भएकाले यसलाई नेवारी भाषाबाट शिवपुर बुलुसिच्वाें अर्थात् बुलु नामाकरण गरिएको हो। हालसम्म बुलुगाउँको शिलापत्र फेला नपरेकाले यो जात्रा कसले र किन चलायो भन्ने कुरा अनुसन्धानमा मात्र सीमित भइरहेको स्थानीयवासीको मत छ।
भनिन्छ, बुलुगाउँमा एउटा अचम्मको शक्ति छ। यस गाउँबाट कसैले पुराना सामग्री बाहिर अन्य स्थानमा लगेमा नराम्रो आवाज दिन्छ। पुराना सामान लाँदा आवाज दिन्छ भन्ने थाहा पाउने व्यक्तिले अहिलेसम्म पनि पुराना सामान गाउँबाहिर लैजाँदैनन्। एक गाउँबाट अर्काे गाउँमा पुराना सामान लाँजादा रातभरि सुत्न पाइँदैन भन्ने मान्यता बुलुवासीमा अझै रहेको देखिन्छ। यो मान्यतालाई बुलुगाउँमा दैविक शक्तिको परिभाषा दिइएको छ।