श्रमिकको उद्धार गर्न नेपाल ट्रेड युनियन काँग्रेसको आग्रह

नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार  र आवश्यक राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। 

युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर लकडाउन गरेपछि विशेषतः भारतमा श्रम गर्न गएका नेपालीहरू अलपत्र परेको भन्दै उनीहरुको उद्धार र आवश्यक राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो।
 
 अलपत्र परेका नेपाली श्रमिकको तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरको भनाइ छ। 'राज्यका नागरिकलाई परेको समस्या समाधान गर्ने दायित्व सरकारको हो', उनले  भने, 'सरकारले यथाशीघ्र सीमामा रहेका नागरिकको उद्धार गर्नुपर्छ।'

सरकारले हालै अत्यावश्यक सेवा तथा वस्तु उत्पादन गर्ने कम्पनीलाई खोल्न दिने निर्णय गर्नुपर्ने भन्दै उनले भने, 'नागरिकलाई लकडाउनको पूर्णपालना गर्न लगाउने कुरा विरोधाभाषपूर्ण भयो।' उद्योग व्यवसाय सञ्चालन हुँदा माहामारी थप फैलनसक्ने भएकाले हाल कुनै पनि उद्योग कारखाना सञ्चालन गर्न नहुने उनको भनाइ छ।
 
अत्यावश्यक सेवा वस्तु उत्पादन गर्नुपर्दा श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, सङ्क्रमण फैलन नदिन अपनाउनुपर्ने सबै मापदण्डको पालना र राज्यको तर्फबाट प्रभावकारी अनुगमनको व्यवस्था गरेर मात्र सञ्चालनमा ल्याउन नेपाल ट्रेड युनियन काँग्रेसले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: : 2020-04-05 15:31:47

प्रतिकृया दिनुहोस्