उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा ज्याला गरेर परिवार पाल्ने सबैका घरमा भोकमरी लागेको छ। सरकारले कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि गाउँमा भोकमरी लागेको चोक्ता तामाङले जानकारी दिए। त्यहाँका अधिकांश जसो मानिस भारतमा गएर आफ्नो परिवार पाल्ने गरेको र यस वर्ष भारत जानुअघि नै लकडाउन भएका कारण गरीब परिवारले ज्याला गर्ने अवसर नपाएर छाक टार्न गाह्रो भएको उनले बताए।
रोजगारका लागि बाहिर जाने र गाउँमा उधारो सामान लिएर परिवार पाल्दै आएका गाउँबासी काममा नगएको र लकडाउन भएको भन्दै व्यापारीले समेत चामललगायत खाद्य सामग्री नदिएको अम्बर तामाङले बताए।
'गाउँमै ज्याला गरेर खानुपर्ने परिवारको त चार दिनअघिदेखि नै खानेकुरा सकिएर भोकमरी लागेको छ', उनले भने, 'बाहिर गएर कमाउनेहरुले त झन् बाह्र दिनसम्म काम पाएका छैन्।'
चार दिनदेखि भोकमरी लागेको परिवारका लागि तत्काल सहयोग उपलब्ध गराउनुपर्ने अवस्था आएको वडाध्यक्ष टेकबहादुर तामाङले बताए।
' चैत १९ गते गाउँपालिका कार्यालयमा लिखित जानकारीसमेत गराइसकिएको छ', उनले भने, 'गाउँबासीसँंग खानेकुरा छैन। गाउँमा उत्पादन हुने जग्गा छैन। धादिङबेंसीबाट डुनडुरेसम्म कच्ची सडकमा गएपछि ६ घण्टा हिँडेर मात्र पुग्न सकिने विकट गाउँ भएकाले भनेकै समयमा कोही मानिससमेत जान सक्दैन। त्यसैले गाउँलाई सहयोगको अत्यावश्यक छ।'
गाउँपालिकाले कोरोना भाइरसको महामारी रोक्नका लागि प्रभावकारी योजना नबनाएको र गाउँपालिका अध्यक्ष गाउँ घुमे पनि केही सहयोग नपाएको सो क्षेत्रका नागरिकको गुनासो छ। उक्त गाउँमा एकसठ्ठी घर छ। जहाँ तामाङ समुदायको मात्रै बसोबास छ।